काठमाडौं- सोपान मल्टिपल कम्पनी लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौंको तीनकुनेमा कम्पनीका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोको सभापतित्वमा सम्पन्न सभाले ५.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले अध्यक्ष महतोद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गरेको छ।
सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ। साथै सभामा प्रस्तुत विशेष प्रस्तावहरू पनि अनुमोदन भएका छन्।
कम्पनीको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८३ असार मसान्तसम्ममा १ अर्ब २५ करोड ७ लाख ७३ हजार ५०० रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यसैगरी कम्पनीको सञ्चित मुनाफा १ अर्ब ४५ करोड ७ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको छ।
सोपान मल्टिपल कम्पनीले विभिन्न उत्पादनमूलक, शैक्षिक, ऊर्जा तथा पूर्वाधारसम्बन्धी कम्पनीहरूमा लगानी गर्दै आएको छ। कम्पनीको लगानी रहेका संस्थाहरूमा कान्तिपुर इन्जिनियरिङ कलेज, माथिल्लो मैलुङ खोला जलविद्युत, मोल्निया पावर, मैलुङ खोला जलविद्युत, रिजलाइन इनर्जी, हिम रिभर पावर, एसएन इनर्जी, सोपान फर्मास्युटिकल्स, फ्लोरिड ल्याबोरेटोरिज तथा शुभश्री अग्नि सिमेन्ट उद्योगलगायत छन्।
सभामा कम्पनीले आगामी दिनमा लगानी विविधीकरणलाई प्राथमिकता दिने रणनीतिसमेत सार्वजनिक गरेको छ। कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित क्षेत्रमा लगानी विस्तार गर्ने योजना अघि सारेको छ। विभिन्न प्रस्तावमाथि छलफल तथा अनुमोदन गर्दै अन्य विविध कार्यक्रमसहित कम्पनीको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।