काठमाडौ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष थप श्रम गन्तव्य मुलुकमा संस्थागतरूपमा श्रमिक पठाउने व्यवस्था गर्न माग गरेको छ । संघले मंगलबार नयाँ गन्तव्य राष्ट्रहरू सूचीकृत गर्नुपर्ने माग राख्दै युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएको छ ।
हाल सरकारले हाल सूचीकृत गरेका १११ राष्ट्रबाहेक नेपालीहरु रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति लिएर १८६ वटा मुलुकमा पुगेको पाइन्छ । यसलाई मध्यनजर गर्दै, थप श्रम गन्तव्य मुलुकहरूमा संस्थागतरूपमा नेपाली श्रमिक पठाउने व्यवस्था गर्न माग गरिएको संघका महासचिव हिराबहादुर डाँगीले बताए । साथै मलेसियाका अन्य प्रान्तबाट आउने मागपत्र प्रमाणीकरण गर्नसमेत अनुरोध गरेको उनले बताए ।
‘परम्परागत गन्तव्य मुलुकबाहेक अन्य मुलुकमा इजाजतपत्र प्राप्त संस्थामार्फत जाने वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘साथै इस्ट मलेसियाअन्तर्गत सबाह तथा सर सरवक प्रान्तबाट प्राप्त मागपत्रहरू प्रमाणीकरणका लागि सम्बन्धित नेपाली दूतावासमार्फत आवश्यक कूटनीतिक पहल गरिदिन भनेका छौं ।’
सरकारले नीतिगत सुधार गरेपछि मागपत्र प्रमाणीकरणको प्रक्रिया पनि क्रमशः सहज हुँदै जाने महासचिव डाँगीले बताए । श्रमबजार प्रवद्र्धनका लागि नयाँ तथा उदीयमान श्रम गन्तव्यको खोजी र बजार विस्तारमा सबै व्यवसायीको सक्रिय सहभागिताका आवश्यक हुने उनको भनाइ छ ।