काठमाडौं- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाको विदेशी कामदारको एकीकृत व्यवस्थापन प्रणाली (एफडब्ल्युसिएमएस) मा नेपालका सीमित व्यवसायीलाई मात्रै सूचीकृत गरिएकोप्रति मलेसिया सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानसँग सिंहदरबारस्थित श्रम मन्त्रालयमा भएको भेटवार्तामा उक्त विषय नेपाल सरकारलाई स्वीकार्य नहुने प्रस्ट पारेका हुन् ।
‘भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको एफडब्लुसिएमएसमा नेपालका केही इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको जानकारी गराउँदै संस्थाहरू सूचीकृत मूल्यांकन प्रणाली तथा मापदण्ड नेपाल सरकारलाई आधिकारिकरूपमा उपलब्ध गराउन अनुरोध गर्नुभएको छ,’ श्रममन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री यादवले वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा संकुचित हुने, सीमित संस्था वा समूहको नियन्त्रण कायम हुने कुनै पनि व्यवस्था कानुनी प्रावधान र द्विपक्षीय श्रम सम्झौताविपरीत हुने विषय नेपाल सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारेको जनाएको छ ।
‘सबै इजाजतपत्र प्राप्त संस्थाका लागि समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित हुनुपर्ने स्पष्ट धारणा उहाँले राख्नुभयो । साथै, केही सूचीकृत इजाजतपत्र प्राप्त संस्थाहरूले आफूहरू एफडब्ल्युसिएमएस प्रणालीबाट बाहिरिने इच्छा राखेको विषयसमेत जानकारी गराउनुभयो,’ सचिवालयले भनेको छ ।
मन्त्री यादवले यस विषय समाधानका लागि जतिसक्दो चाँडो द्विपक्षीय कूटनीतिक परामर्श र नेपाल सरकारको प्रयासमा सहजीकरण गरी मलेसिया सरकारसँग आवश्यक समन्वयका लागि पहल गर्न कार्यवाहक राजदूत अजमानलाई आग्रह गरेका छन् ।