काठमाडौं- प्रोभिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नयाँ बानेश्वर काठमाडौंको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित बजेटलगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ।
नयाँ बानेश्वर काठमाडौंमा हालै सम्पन्न साधारण सभामा संस्थाको सञ्चालक समितिका तर्फबाट अध्यक्ष कृष्णचन्द्र आचार्यले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरिएको थियो। त्यस्तै, सचिवद्वारा प्रस्तुत प्रतिवेदन तथा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदनसमेत सभाले पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेट पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायतका प्रस्तावहरू पनि अनुमोदन गरेको छ। साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०८३ असार मसान्तसम्मको वासलातअनुसार संस्थाको शेयर पुँजी १ करोड १५ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ। संस्थाले १० करोड ८ लाख ५० हजार १ सय ९३ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ करोड ९८ लाख ९१ हजार ३ सय ५६ रुपैयाँ ऋण लगानी गरेको छ।
त्यस्तै, संस्थाको साधारण जगेडा कोषमा ४२ लाख ४० हजार १ सय ९५ रुपैयाँ रहेको छ। सहकारीले विभिन्न कारोबार सञ्चालन गर्दै आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म १२ करोड ११ लाख २ हजार ९ सय ४ रुपैयाँको कुल कारोबार गरेको जनाएको छ।
साधारण सभामा सहकारी अभियन्ता, आर्थिक विज्ञ, सहकारी संघका प्रतिनिधि, समाजसेवी तथा संस्थामा आबद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो। सभामा सहकारीलाई आगामी दिनमा थप सशक्त र भरपर्दो बनाउने, कारोबारीहरूको विश्वासलाई अझ प्रगाढ बनाउँदै लैजाने तथा संस्थालाई आर्थिक गतिविधिमा थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सहकारीको संस्थागत सुशासन, सदस्यको विश्वास तथा आर्थिक गतिविधिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तार र कारोबारलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित साधारण सभा सम्पन्न भएको जनाइएको छ।