काठमाडौं- सहस्रधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नयाँ बानेश्वरको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
पुरानो बानेश्वर, काठमाडौंमा संस्थाका अध्यक्ष वासुदेव ढुङ्गानाको सभापतित्वमा सम्पन्न साधारण सभाले अध्यक्ष ढुङ्गानाद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेट पारित गर्नुका साथै लाभांश वितरण, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणलगायत विभिन्न प्रस्तावहरू समेत पारित गरेको छ।
साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०८३ असार मसान्तसम्मको वासलातअनुसार संस्थाको शेयर पुँजी २ करोड ५० लाख ८९ हजार ४ सय रुपैयाँ रहेको छ। त्यस्तै, संस्थाले २२ करोड ३४ लाख ५७ हजार ९ सय २३ रुपैयाँ बचत संकलन गरेको छ भने १८ करोड ५६ लाख ४९ हजार ३ सय ६६ रुपैयाँ ऋण लगानी गरेको छ।
संस्थाको जगेडा कोषमा १ करोड १३ लाख ४९ हजार ६ सय ८४ रुपैयाँ रहेको छ। सहकारीले अन्य विविध कारोबारसमेत गरी आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २६ करोड ६४ लाख ६० हजार २३ रुपैयाँको कुल कारोबार गरेको जनाएको छ।
साधारण सभाका अवसरमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा विद्यावारिधि गरेका विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। साथै, संस्थामा आबद्ध उत्कृष्ट कारोबारीलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा समाजसेवी, सहकारी अभियन्ता, सहकारीकर्मी, संस्थाका सदस्य तथा कारोबारीलगायतको उपस्थिति रहेको थियो। विविध कार्यक्रमका साथ सम्पन्न साधारण सभामा संस्थाको आगामी कार्यदिशा तथा सहकारीको प्रगतिका विषयमा समेत छलफल गरिएको थियो।