काठमाडौं– भिजिट भिसा र व्यक्तिगत भिसामा संयुक्त अरब इमिरेट्स (युएई)मा पुगेर अलपत्र पर्नेहरुको संख्या बढेको पाइएको छ।
सुरक्षित माध्यमबाट युएई जाने विकल्प हुँदाहुँदै असुरक्षितरुपमा गएर ठगीमा पर्नेहरुको संख्या बढिरहेको दूबईस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ।
नेपाली श्रमिकहरु ठगीको उद्देश्यले निकालिएका व्यक्तिगत र भिजिट भिसाको प्रयोग गर्दै दलाललाई लाखौं रुपैयाँ बुझाएर उक्त मुलुक जाने गरेको र कम्पनीमा सम्पर्क हुन नसक्दा वा कम्पनीले बेवास्ता गर्दा अलपत्र पर्ने गरेको महावाणिज्यदूतावासले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ।
यसरी गएका श्रमिकहरु उक्त मुलुकमा काम खोज्ने क्रममा पुनः दलालको फन्दामा परेर कानुनी झमेलामा परिरहेका गुनासाहरु उल्लेख्य मात्रामा आउन थालेका जनाइएको छ।
यस्तो ठगीबाट बच्न श्रमिक स्वयं सचेत हुनुको विकल्प नरहेको महावाणिज्यदूतावासले जनाएको छ। रोजगारीका लागि युएई जान चाहनेहरुले भिजिट भिसाबाट नभई संस्थागत माध्यमबाट जानसमेत अनुरोध गरिएको छ।
साथै, भरपर्दो कम्पनीमा आफ्नो योग्यता र अनुभव मिल्ने सीपयुक्त काम, आफूले यसभन्दा अघि काम गरिसकेको भरपर्दो कम्पनी र युएईमा रहेका आफ्नै परिवारका सदस्यले पहल गरेर खोजिदिएको कामबाहेक व्यक्तिगत भिसामा युएई नआउनसमेत अनुरोध गरिएको छ।
उकालो लाग्दै ठगीको ग्राफ
पछिल्लो दुई वर्षयता वैदेशिक रोजगारीको नाममा व्यक्तिगत ठगीका घटना निरन्तर बढिरहेको तथ्यांकले देखाउँछ।
गत आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार ६२४ वटा व्यक्तिगत ठगीका उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन्। जुन आव २०८१/८२ को भन्दा बढी हो। आव ०८१/८२ मा विभागमा संस्थागत र व्यक्तिगत गरी चार हजार ९०० भन्दा बढी उजुरी दर्ता भएका थिए। जसमध्ये ९० प्रतिशत व्यक्तिगत ठगीका उजुरी रहेका विभागले जनाएको थियो।
आव ०८१/८२ बाट व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा जानेहरुको संख्यामा उल्लेख्य वृद्धि भएसँगै ठगीमा पर्ने क्रम पनि बढेको विभागले बताउँदै आएको छ। आव २०८०/८१ मा ९५ हजार ३८ जना व्यक्तिगत श्रम स्वीकृतिमा विदेसिएका थिए। त्यसभन्दा अघि व्यक्तिगतरुपमा रोजगारीमा जानेहरुको संख्या न्यून थियो। विशेषगरी कोरोना महामारीपछि यसरी जानेहरुको संख्या क्रमिकरुपमा बढेको देखिन्छ। गत आव २०८२/८३ मा एक लाख २८ हजार ५२० जना व्यक्तिगत रुपमा गएका थिए।
व्यक्तिगत श्रम स्वीकृतिमा खाडीको संयुक्त अरब इमिरेट्स (युएई) देखि जापान, रोमानिया, पोर्चुगल, सर्बिया, टर्की, मरिसस, पोल्याण्डलगायतमा मुलुकमा बढी युवाहरु जाँदै आएका छन्। सामाजिक सञ्जालमा आउने युरोपेली मुलुकका आकर्षक तलब सुविधा राखिएका विज्ञापनमा विश्वास गर्दा युवाहरु ठगीमा पर्ने गरेका छन्। युरोपको रोजगारी पाउने आशमा युवाहरु केही लाखदेखि दशौं लाखसम्म ठगीमा पर्ने गरेका छन्।
मुलुकमा रोजगारी नपाउँदा बेरोजगार भएका, कम पढेलेलेकादेखि शिक्षित युवाहरु पनि ठगिने गरेका भेटिएको छ। पछिल्लो समय दर्ता भएका अधिकांश ठगीका घटना सामाजिक सञ्जालमार्फत भएको पाइएको विभागले बताउँदै आएको छ। यस्तो ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि कठिन भएको बताइन्छ।
आव २०८२/८३ मा दर्ता भएका पाँच हजार ६०० उजुरीमध्ये जम्मा एक हजार ६७६ वटामात्र फस्र्योट भएका छन्। व्यक्तिगत ठगीका घटनाका दोषीले विभिन्न सञ्जालमार्फत पैसा असुल्ने, धेरै जनाबाट मोटो रकम लिएपछि भारत, युएईलगायतका मुलुकमा लुकेर बस्नेजस्ता कारण यस्ता गिरोह समाउने संयन्त्र नभएको विभागले बताउँदै आएको छ। ठगीमा नपर्न व्यक्ति स्वयं सचेत हुनुको विकल्प नभएको विभागको भनाइ छ।