काठमाडौं– बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्तीलाई स्थानान्तरण गर्नेसम्मका विषयमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीच काठमाडौंमा विस्तृत अन्तरक्रिया तथा छलफल हुने भएको छ।
भृकुटीमण्डपमा असोज १ देखि ४ गतेसम्म आयोजना हुने ‘नवौं सिजी प्रोपर्टिज नेपाल जग्गा, आवास तथा निर्माण प्रदर्शनी–२०८३’ को अवसर पारेर एक्स्पो कन्फरेन्स हलमा विशेष प्राविधिक सत्र तथा उच्चस्तरीय प्यानल छलफल सञ्चालन गर्न लागिएको एक्स्पो संयोजक रोशन भोयध्योले जानकारी दिए।
आयोजकका अनुसार चारदिने प्रदर्शनीका सुरुआती तीन दिनमा निर्माण, भू–उपयोग, विपद् उत्थानशीलता, पुनर्वास र सार्वजनिक निजी साझेदारीमा आधारित एकीकृत आवास विकासलाई केन्द्रमा राखेर छलफल गरिने छ।
प्रदर्शनीको पहिलो दिन असोज १ गते दिउँसो २ बजे ‘घर तथा भवन निर्माणमा वास्तुशास्त्रको महत्त्व’ विषयमा विशेष सेमिनार आयोजना हुने छ। सेमिनारमा वास्तुविज्ञ डा. माधव मंगल जोशीले मुख्य प्रस्तुति दिने छन्। आधुनिक आवास विकासमा भवनको संरचनात्मक सुरक्षा, स्थान छनोट, वातावरण, प्रकाश तथा हावाको व्यवस्थापनसँग वास्तुशास्त्रको सम्बन्धबारे यस सत्रमा गहन चर्चा गरिने छ।
दोस्रो दिन असोज २ गते विपद् र पुनर्वाससँग प्रत्यक्ष सम्बन्धित दुई महत्त्वपूर्ण प्राविधिक प्रस्तुतिहरू रहने छन्। ‘उच्च जोखिम क्षेत्रमा विपद् उत्थानशील पूर्वाधार र दिगो निर्माण’ विषयमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव आर्किटेक्ट पद्मकुमार मैनालीले प्रस्तुति दिने छन्, जसमा विपद्को जोखिम मूल्यांकन, संरचनागत सुरक्षा र दिगोपनको विषय समेटिने छ।
सोही सत्रमा भूमि व्यवस्था मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले ‘भूउपयोग वर्गीकरण, सुरक्षित भूमि एवं बस्ती विकास र बाढी पीडितहरूका लागि स्थानान्तरण योजना’ माथि आफ्नो प्रस्तुति राख्ने छन्। यस प्रस्तुतिले बाढीप्रभावित परिवारको तत्काल राहतपछिको दीर्घकालीन पुनर्वास, सुरक्षित भूभागको पहिचान तथा नयाँ स्थानमा आवाससँगै सडक, खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य र जीविकोपार्जनका पूर्वाधार कसरी पु¥याउने भन्ने विषयलाई उजागर गर्ने छ।
तेस्रो दिन असोज ३ गते विपद्पछिको पुनर्निर्माणमा निजी क्षेत्रको सहभागिता र नीतिगत व्यवस्थामाथि प्यानल छलफल हुने छ। विपद्पछि ठूलो संख्यामा संरचना निर्माण गर्दा सरकारी स्रोतमात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापन क्षमता परिचालन गर्नेबारे छलफल केन्द्रित हुने आयोजकको भनाइ छ।
प्रदर्शनीको अन्तिम दिन असोज ४ गते प्रदर्शकहरूबीच व्यावसायिक बिटुबी अन्तरक्रिया आयोजना गरिने छ। ‘समग्रमा यस प्रदर्शनीले आवासलाई केवल घर निर्माण वा जग्गा कारोबारमामात्र सीमित नराखी सुरक्षित स्थान, योजनाबद्ध बस्ती र विपद् प्रतिरोधी पूर्वाधार निर्माणको नीतिगत सुधारका लागि महत्त्वपूर्ण मञ्च तयार गर्ने अपेक्षा गरिएको छ,’ आयोजकको भनाइ छ।