काठमाडाैं- आशुतोष इनर्जी लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। ललितपुरको कुपण्डोलमा शनिबार कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू पारित गरेको हो।
सभाले सञ्चालक समितिका अध्यक्ष कार्कीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, आव २०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। त्यस्तै, आव २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, लाभांश वितरणलगायतका विविध प्रस्तावसमेत अनुमोदन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आव २०८३ को असार मसान्तसम्म आर्जित मुनाफाबाट चुक्ता पुँजी ४८ करोड रुपैयाँको १८.९४७३ प्रतिशतका दरले कुल ९ करोड ९ लाख ४७ हजार ४० रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। कम्पनीको वित्तीय विवरणअनुसार आव २०८१/८२ र २०८२/८३ को कारोबारको समीक्षा गर्दा कम्पनीको सेयर पुँजी ४८ करोड रुपैयाँ, जगेडा कोष १४ करोड ८४ लाख ३५ हजार ६१३ रुपैयाँ, मध्यम तथा दीर्घकालीन ऋण १ अर्ब ५ करोड २७ लाख ४८ हजार ५३६ रुपैयाँ रहेको छ। त्यस्तै, स्थिर सम्पत्ति १ अर्ब ५६ करोड ५२ लाख ४२ हजार ९२३ रुपैयाँ, चालु सम्पत्ति १९ करोड ५३ लाख ६३ हजार ७९२ रुपैयाँ, नगद तथा बैंक मौज्दात ४ करोड ९३ लाख ४५ हजार ५९८ रुपैयाँ र चालु दायित्व १२ करोड ८७ लाख ६८ हजार १६४ रुपैयाँ रहेको जनाइएको छ।
सभामा कम्पनीको नयाँ परियोजनाका रूपमा रहेको २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजना निर्माण प्रक्रिया करिब ९० प्रतिशत पूरा भएको जानकारी दिइयो। कम्पनीले आयोजना निकट भविष्यमै विद्युत बिक्री-वितरणमा जाने दाबी गरेको छ।
विभिन्न उतारचढावका बीच कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्ने प्रक्रियालाई समेत अघि बढाइरहेको जनाएको छ। सभामा सहभागी सेयरधनीहरूले कम्पनीको वित्तीय अवस्था, आयोजना तथा भावी योजनासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाफ अध्यक्ष कार्कीले दिएका थिए।
कम्पनीले लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिका-१ र २ स्थित चेपे खोलामा ८.६३ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाबाट कम्पनीले २०७९ असोजदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन गर्दै आएको सभामा जानकारी गराइएको थियो।