बारीका कान्ला भरी घाँस हुन्थ्यो
तीन चार दिनलाई पुग्ने घाँस एकैपटक काटिन्थ्यो
वर्ष दिनमा राता राता लुगा लुगा लगाउथे
खिर मीठो मीठो पक्वान बनाएर
तातो तातो घिउ खाइन्थ्यो
र पो तीज आउथ्यो!
बुबाले फुपू दिदीलाई लिन जानुहुन्थ्यो
हजुरआमाले घरको सबैथोक रेखदेख गर्नुहुन्थ्यो
आमा र ठूली आमालाई लिन मामा आउनुहुन्थ्यो
आमा र ठूली आमाले दु:ख सुख सुनाउनु हुन्थ्यो
र पो तीज आउथ्यो!
आमालाई तीजको दर खाने निम्तो दिन ठूली आमा आउनु हुन्थ्यो
हातमा राता राता चुरा पोते आमालाई दिनु हुन्थ्यो
वर्ष भरीको दु:ख सुख पीडा ओकलेर नारीहरुले गीत गाउनु हुन्थ्यो
र पो तीज आउथ्यो!
तीजको व्रत बसेर थानापति महादेवको दर्शन गरिन्थ्यो
मेलामा बेलुन फुलाइन्थ्यो
तातोतातो जुलेबी खाइन्थ्यो
दु:ख पीडा पोखेर दोहोरी गीत गाइन्थ्यो
साही नेपाली सेनाका जवानहरु र महिला बीच दोहोरी गीत गाइन्थ्यो
त्रिशुलिको म एउटा फगत, हान्देउ गोली बगाइदे रगत
भन्ने गीत गुन्जाइन्थ्यो
र पो तीज आउथ्यो!
सोली भरी सेल रोटी केरा घिउ कुरौनी लेर दिदी भेट्न गइन्थ्यो
धोबी भाथी पुगेपछि म पिसाब लागेर जङ्गल तिर पसे
मनबिरे घर्ती दाइले सोली बोकेर अगाडि हिडिरहनु भयो
जुका जिउभरी लागेर म अतालिदै रुदै कुदे
मनबिरे दाइ तिर
सुर्ती भिजाएर लगाइ दाइले जुका झारिदिनु हुन्थ्यो
रमाइला क्षणहरु थिए
र पो तीज आउथ्यो!
कालान्तरमा रामेछाप छाडियो
बुबाले हाम्रो परिवार तराई मधेस बसाइँ सार्नु भयो
तराईमा हुँदा पनि तीज रमाइलोसँग मानिन्थ्यो
एक मन पटुवा लिएर बुबा बेच्न बजार जानुहुन्थ्यो
राता चुरा पोते टिका सारी चोलो लिएर फुपू दिदिलाई निम्तो देर आउनु हुन्थ्यो
र पो तीज आउथ्यो!
घरमा आमाले गाई भैंसी दोयर राख्नु हुन्थ्यो
बेलुका खिर ढकने मिठाइँ घिउ राती बाह्र बजे सम्म खाइन्थ्यो
आज फरक समय छ
आमाबाबु हुनुहुन्न
धेरै अग्रज हुनुहुन्न
माथि बाटै आजक तीज निहाली रहनु भएको छ
आज
तीन महिना देखि घरमा चुलो कम जल्छ
भान्सामा चुरा बज्दैनन्
नशामा झुम्म भएर तीज मनाइन्छ आज
कोक पेप्सी खाइन्छ
उबेला दहिमा पानी हालेर
पखाले बनाएर तिर्ख मारिन्थ्यो
र पो तीज आउथ्यो!