एपी- अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ ।
डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा सयौँ मानिस भेला भएका थिए । सङ्गीत र नृत्यसहित आयोजित समारोहमा सेनेगलका सय प्रभावशाली महिलाले ओलम्पिक ज्योति बोकेर र्याली निकाले । उनीहरूलाई वोलोफ भाषामा रानी वा राजपरिवारका महिलालाई जनाउने शब्द ‘लिन्गीर’ भनिएको थियो ।
अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म हुने प्रतियोगितामा करिब दुई हजार ७०० युवा खेलाडीले डाकार तथा नजिकका डियाम्नियाडियो र सालीमा ३५ खेलमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१० मा सिङ्गापुरबाट सुरु भएको युथ ओलम्पिक १५ देखि १८ वर्ष उमेर समूहका खेलाडीका लागि आयोजना हुने ओलम्पिकको युवा संस्करण हो । सेनेगलमा आयोजना हुन लागेको यस प्रतियोगिताले अफ्रिकी युवाका लागि नयाँ अवसर र प्रेरणा दिने अपेक्षा गरिएको छ ।
‘लिन्गीर’मध्येकी गासिराह डियाग्नेले प्रतियोगिताले अफ्रिकाभरका युवालाई प्रेरित गर्ने बताए । “अगाडि बढिरहेको र भविष्यतर्फ हेरिरहेको महादेशलाई विश्वसामु चिनाउन सेनेगल एउटा प्रवेशद्वार मात्र हो”, उनले भने । सेनेगलकी बास्केटबलकी दिग्गज खेलाडी मामे माटी मबेन्गुले समारोहमा ओलम्पिक कल्ड्रन प्रज्वलित गरे । अन्तर्राष्ट्रिय ओलम्पिक समितिकी अध्यक्ष किस्र्टी कोभेन्ट्रीले यसलाई सेनेगल र समग्र अफ्रिकाका लागि गर्वको क्षण भएको बताए ।
ग्रीसको राजधानी एथेन्सस्थित पानाथेनाइक रङ्गशालाबाट बिहीबार सेनेगललाई हस्तान्तरण गरिएको ओलम्पिक ज्योतिले सोमबारदेखि करिब तीन हजार ६०० किलोमिटर यात्रा गर्नेछ । ४०० भन्दा बढी मशाल-बाहकसँगै यसले सेनेगलका सबै १४ क्षेत्रको भ्रमण गर्नेछ र उद्घाटन समारोहका लागि डाकार फर्कनेछ ।