एएनआई- रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी-२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन् । अक्टोबर ३० र ३१ मा हुने बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू-राजनीतिक तनाव र सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।
स्पुतनिकका अनुसार लाभरोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, युरोपेली संक (इयु) की विदेश नीति प्रमुख काजा कालास र चीनलगायत देशका प्रतिनिधिसँग भेटवार्ता गरेका छन् । बैठकमा आपूर्ति शृङ्खलाको अवरोध, समुद्री आवागमनको स्वतन्त्रता तथा ऊर्जा र खाद्य सुरक्षाका विषयमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले पनि बैठकमा सहभागी भई क्वाड विदेशमन्त्रीस्तरीय बैठक तथा द्विपक्षीय छलफलमा भाग लिने छन् । त्यसपछि उनले नोभेम्बर १ देखि ४ सम्म एन्टिगुवा र बारबुडामा हुने राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् ।
एटलान्टाको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी जी-२० नेताहरूको शिखर सम्मेलनका लागि आर्थिक एजेन्डा तय गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
जी-२० मा १९ देश तथा युरोपेली संघ (इयु) र अफ्रिकी संघ सदस्य छन् । यसले विश्वको कुल गार्हस्थ उत्पादनको करिब ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशतभन्दा बढी र विश्व जनसङ्ख्याको दुई तिहाइ प्रतिनिधित्व गर्छ । यसको अध्यक्षता सदस्य राष्ट्रहरूले आलोपालो गर्दै आएका छन् ।