एपी- युरोपेली केन्द्रीय बैंक (इसिबी) की अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठवर्षे कार्यकाल सकिनुभन्दा नौ महिनाअघि आगामी फेब्रुअरी ७ मा पद छाड्ने भएकी छन् । उनको निर्णयले युरोपेली संक (इयु) का नेताहरूलाई सन् २०२७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचनअघि नयाँ अध्यक्ष चयन गर्ने अवसर दिनेछ ।
यसबाट दक्षिणपन्थी उम्मेदवार मरिन ले पेन विजयी भएमा नियुक्ति प्रक्रियामा पर्न सक्ने प्रभाव रोक्न खोजिएको विश्लेषकहरूको भनाइ छ । सत्तरी वर्षीया लेगार्डको कार्यकाल सन् २०२७ अक्टोबर ३१ मा सकिने तय थियो । उनले इसिबीको नेतृत्व गर्न पाउनुलाई गर्व र सौभाग्यको विषय बताउँदै पदसँग जोडिएको राजनीतिक तटस्थताको दायित्वबाट मुक्त भएर मौद्रिक नीतिबाहेकका विषयमा पनि स्वतन्त्र रूपमा बोल्न चाहेको बताएकी छन् ।
इसिबीले युरो प्रयोग गर्ने २१ देशको ब्याजदर निर्धारण गर्छ । यसले घर खरिददेखि उद्योग स्थापना गर्नेसम्मको ऋण लागत प्रभावित पार्छ । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले नयाँ अध्यक्ष चयन प्रक्रिया तत्काल अघि बढाइने बताएकी छन् । इसिबीका मुख्य अर्थशास्त्री फिलिप लेनको कार्यकाल आगामी मे ३१ मा सकिँदैछ भने कार्यकारी बोर्डकी सदस्य इसाबेल श्नाबेलले जनवरी ३ मा पद छाड्ने छिन् । तीन वरिष्ठ पदमा नियुक्तिका लागि युरोपेली संक (इयु) का नेताहरूले डिसेम्बर १७-१८ को शिखर सम्मेलनअघि सहमति जुटाउने प्रयास गर्न सक्ने बेरेनबर्ग बैंकका प्रमुख अर्थशास्त्री होल्गर स्मिडिङले बताएका छन् ।
इसिबी अध्यक्षका सम्भावित उम्मेदवारमा नेदरल्यान्ड्सको केन्द्रीय बैंकका पूर्वप्रमुख क्लास नट र बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सका महाप्रबन्धक पाब्लो हर्नान्डेज डे कोस छन् । स्मिडिङका अनुसार फ्रान्समा ले पेन विजयी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै राष्ट्रपति इमानुएल म्याक्रोन पदमा रहँदै नयाँ अध्यक्ष चयन गर्न खोजिएको हो ।
सन् २०१९ मा मारियो द्राघीको उत्तराधिकारीका रूपमा नियुक्त लेगार्डको कार्यकालमा इसिबीले कोभिड-१९ महामारीका बेला अर्थतन्त्रमा ऋण प्रवाह कायम राख्न सन् २०२० मा एक हजार ३५० अर्ब युरो बराबरको आपत्कालीन ऋणपत्र खरिद कार्यक्रम सञ्चालन गरेको थियो । सन् २०१२ मा द्राघीले युरोको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता जनाउँदा युरोजोनको ऋण संकटले निम्त्याएको बजार अस्थिरता कम गर्न सहयोग पुगेको थियो ।
लेगार्डको राजीनामाको घोषणाले इसिबीको ब्याजदर निर्णयलाई पनि ओझेलमा पारेको छ । अमेरिकाको इरानसँगको युद्धका कारण तेलको मूल्य बढेर वार्षिक मुद्रास्फीति ३.८ प्रतिशत पुगे पनि बैंकले प्रमुख ब्याजदर २.५ प्रतिशतमा यथावत् राखेको छ । इसिबीको मुद्रास्फीति लक्ष्य दुई प्रतिशत हो । मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर महत्त्वपूर्ण भए पनि ऋणपत्र बजारमा बढ्दो ब्याजदरले निजी क्षेत्रका लागि ऋण महँगो बनाएको विश्लेषकहरूको भनाइ छ ।