काठमाडौं- हिलटन हाइड्रो इनर्जी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार नयाँ बानेश्वरमा सम्पन्न साधारण सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मोहन विक्रम कार्कीले गरेका थिए।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष कार्कीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले पारित गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव, नगद लाभांश वितरणसम्बन्धी प्रस्तावलगायत अन्य विविध प्रस्तावहरू समेत अनुमोदन गरेको छ। सभामा दिइएको जानकारीअनुसार कम्पनीले आर्थिक वर्षमा ७.१९ करोड युनिट विद्युत उत्पादन गरेको छ। यसबाट कम्पनीले आफ्नो उत्पादन क्षमताको ९६.७८ प्रतिशत उपलब्धि हासिल गर्न सफल भएको जनाएको छ। कम्पनीले ६८ करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशतका दरले १३ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।


त्यसैगरी, कम्पनीले निकट भविष्यमै १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने जानकारी दिएको छ। कम्पनीले आफ्नो वित्तीय अवस्था थप मजबुत बनाउने उद्देश्यले अन्य जलविद्युत कम्पनीमा समेत लगानी गरेको जनाएको छ। कम्पनीका अनुसार श्री कालिका एनर्जी लिमिटेडको सेयरमा ८ करोड ५० लाख रुपैयाँ र श्री हाइड्रो भिलेज लिमिटेडको सेयरमा ८ करोड ५० लाख रुपैयाँ गरी कुल १७ करोड रुपैयाँ लगानी गरिएको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वित्तीय विवरणअनुसार सेयर पुँजी ६८ करोड रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोष १४ करोड ४० लाख ६९ हजार ७ सय ८१ रुपैयाँ ५५ पैसा, मध्यम तथा दीर्घकालीन ऋण १ अर्ब ६८ करोड १५ लाख ३७ हजार ८ सय ७९ रुपैयाँ ४ पैसा रहेको छ।
यसैगरी, कम्पनीको स्थिर सम्पत्ति २ अर्ब ५५ करोड ६३ लाख ३७ हजार ९ सय ६३ रुपैयाँ १९ पैसा, चालु सम्पत्ति ९ करोड ५१ लाख ५२ हजार ७ सय १० रुपैयाँ ३६ पैसा, नगद तथा बैंक मौज्दात १० करोड २१ लाख २८ हजार ९ सय १८ रुपैयाँ ७४ पैसा र चालु दायित्व २४ करोड ८० लाख ११ हजार ९ सय ३१ रुपैयाँ ७० पैसा रहेको छ। साधारण सभामा सेयरधनीहरूले कम्पनीको वित्तीय अवस्था, लाभांश, आईपीओ तथा आगामी योजनालगायत विषयमा विभिन्न जिज्ञासा राखेका थिए। उठाइएका जिज्ञासाको जवाफ कम्पनीका अध्यक्ष कार्की तथा अन्य पदाधिकारीहरूले दिएका थिए। विविध कार्यक्रमसहित सम्पन्न साधारण सभाले कम्पनीको आगामी व्यवसायिक तथा वित्तीय योजनालाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।