काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन आयातकर्ता संघले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संघले आफ्ना सदस्य संस्थाबाट संकलन गरेको उक्त रकम आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको संघले जनाएको छ।
संकलित रकम बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उपयोग हुने विश्वास संघले व्यक्त गरेको छ।
सहयोग रकम मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
सो अवसरमा संघका अध्यक्ष दीपककुमार मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले राहत अभियानमा सहयोग गर्ने सदस्य संस्थाहरूलाई धन्यवादसमेत व्यक्त गरे।