काठमाडौं- माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारण सभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा बुधबार काठमाडौंको बालुवाटारमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको हो।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्मको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गरेको छ। साधारण सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विभिन्न प्रस्तावसमेत पारित गरेको छ। सभामा प्रस्तुत विवरणअनुसार माछापुच्छ्रे क्यापिटलले चालु आर्थिक वर्षमा ७ करोड २१ लाख ५० हजार ४८५ रुपैयाँ आम्दानी आर्जन गरेको छ। कम्पनीले सो अवधिमा ३ करोड ५९ लाख २९ हजार ८०२ रुपैयाँ खुद मुनाफा हासिल गरेको जनाएको छ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले २ करोड ४३ हजार ७६५ रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष खुद मुनाफामा १२१ प्रतिशत वृद्धि भएको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को तथ्यांकअनुसार कम्पनीको सेयर पुँजी २८ करोड ६३ लाख ३९ हजार ५०० रुपैयाँ पुगेको छ भने लगानी २८ करोड ४२ लाख ६८ हजार ४१८ रुपैयाँ रहेको छ।
साधारण सभामा सेयरधनीहरूले कम्पनीको वित्तीय अवस्था, आगामी रणनीति तथा अन्य विषयमा विभिन्न जिज्ञासा राखेका थिए। सेयरधनीका जिज्ञासाको अध्यक्ष विश्वम्भर न्यौपाने, कम्पनीका कार्यकारी अधिकृत उपेन्द्र मालाकार तथा अन्य पदाधिकारीहरूले जवाफ दिएका थिए।
विभिन्न छलफल तथा विविध कार्यक्रमसहित माछापुच्छ्रे क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको हो।