काठमाडौं- पत्रकार तथा युवा लेखक क्षतिज समपर्णको पहिलो कृति 'तोरकीन' कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२ का लागि उत्कृत्ट तीन आख्यान कृतिको सूचीमा परेको छ।
कविडाँडा राष्ट्रिय आख्यान समाज चितवनले मंगलबार पुरस्कार छनोटका लागि उत्कृष्ट तीन आख्यानको सूची सार्वजनिक गरेको हो। तोरकीनसहिन सीमा आाभासको 'महायुग' र नीलम निहारिकाको 'राजमाता' सूचीमा समावेश छन्।
समाजका अध्यक्ष एलबी क्षेत्रले आगामी असोज पहिलो साता यी तीनवटा कृतिबाट एक सर्वोत्कृष्ट पुरस्कार आख्यानको घोषणा गरिने छ।
पुरस्कारको राशि दुई लाख १६० रुपैयाँ रहेको उनले बताए। समाजले २०७५ सालमा यो पुरस्कारको स्थापना गरेको जानकारी दिइएको छ।
आफ्नो पुस्तक उत्कृष्ट तीन आख्यानको सूचीमा परेसँगै लेखक समर्पणले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। 'कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८२ का लागि; १६ पुस्तकको विस्तारित सूची, आठ पुस्तकको संक्षिप्त सूची हुँदै तीन पुस्तकको उत्कृष्ट सूचीमा तपाईंले असाध्यै माया गरिदिनुभएको तोरकीन उपन्यास समावेश भएको सुखद खबर सुनाउन पाउँदा गद्गद् भएको छु,' उनले लेखेका छन्।
माथिल्लो मुस्ताङमा बसाइँसराइले पारेको प्रभावबारे अनुसन्धान गरी लेखिएको तोरकीनलाई बुकहिलले एक वर्षअघि बजारमा ल्याएको हो।
यस पुस्तकमा लेखकले माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवं भौगोलिक इतिहासको कथालाई खोज-अनुसन्धान गरी मिथकीय शैलीमा प्रस्तुत गरेका छन्।
उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ।