काठमाडौं– कुमारी बैंक लिमिटेडले कार्वन लेखा वित्तिय संस्थाहरुको लागि साझेदारी (पिक्याफ) मा आबद्ध हुँदै जिम्मेवार बैंकिङ्ग, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता गरेको छ ।
पिक्याफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्बजानिकरुपमा प्रकाशन गर्न पिक्याफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्ने जनाइएको छ । यो पहलले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्ने गरेको बताउँछन् ।
न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणलाई सहयोग गर्न वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँछन् । पिक्याफमा आबद्ध भएर कुमारी बैंकले आफ्नो लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने र त्यसबाट प्राप्त जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पहलमा उपयोग गर्ने लक्ष्य राखेको छ ।
पिक्याफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्दछ । यसको बढ्दो विश्वव्यापी सञ्जालले वित्तीय संस्थाहरूलाई वित्तीय लगानीसँग सम्बन्धित उत्सर्जन मापन गर्न तथा जलवायु सम्बन्धी पारदर्शिता सुधार गर्न साझा ढाँचा प्रदान गर्दछ ।
कुमारी बैंकका लागि पिक्याफको सदस्य बन्नु यसको व्यापक दिगोपनसम्बन्धी यात्रामा महत्वपूर्ण प्रगति हो । यसले बैंकको व्यवसाय तथा वित्तीय गतिविधिमा वातावरणीय पक्षलाई समावेश गर्ने प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्दछ ।
बैंकले दिगो वित्तका अवसरहरू विस्तार गर्ने, आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय तथा जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने र नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन सरोकारवालाहरूसँग सहकार्य गर्ने कार्यलाई निरन्तरता दिनेछ ।