काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो।
अर्थ मन्त्रालय, सिंहदरबारमा सोमबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट तथा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समेत उपस्थिति थियो।
बैंकले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ। यसैबीच, बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बैंकले तत्काल राहतस्वरूप नुवाकोटको विदुर नगरपालिका-५, देवीघाट क्षेत्रमा चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायत खाद्यान्न सामग्रीसमेत वितरण गरेको जनाएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। बैंकका अनुसार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सामुदायिक विद्यालय, वृद्धाश्रम तथा अनाथालयलाई समेत आर्थिक सहयोग प्रदान गर्दै आएको छ।
बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको उल्लेख गर्दै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड' भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ।
सिटिजन्स बैंकका अनुसार देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत करिब २० लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।