एनभिएल भलिबलले भलिबलको लोकप्रियतालाई अझ बढाउन महत्वपूर्ण भूमिका खेल्ने छ। यस्ता प्रतियोगिताका माध्यमबाट नयाँ प्रतिभाको जन्म हुने छ, जसले आगामी दिनमा नेपाली राष्ट्रिय टिमलाई अझ बलियो बनाउन सहयोग मिल्न जाने छ। मुलुकको खेलकुद विकासका लागि सरकारकोमात्र भर पर्नुपर्ने स्थितिको अन्त्य भई निजी क्षेत्रका व्यापारिक घरानाको पनि खेलकुदमा आकर्षण बढाउन यस्ता प्रतियोगिता उपयोगी सावित हुने आकलन गर्न सकिन्छ।
नेपालमा हालैका वर्षमा खेलकुदमा व्यावसायिकता मौलाउँदै गएपछि सम्बन्धित खेलका खेलाडीमा केही हदसम्म भए पनि राहतको महसुस हुन थालेको छ। नेपालमा खेलेर बाँच्न सकिने अवस्था नभएपछि वैदेशिक रोजगारीका लागि विभिन्न खेलका प्रतिभाशाली खेलाडी विदेसिनेक्रम बढिरहेका अवस्थामा निजी क्षेत्रको सक्रियतामा खेलकुदका प्रतियोगिता हुन थालेपछि त्यसले सकारात्मक वातावरण सिर्जना गरेको छ। क्रिकेट, फुटबल, बास्केटबल, कबड्डी तथा भलिबलजस्ता खेलका खेलाडीले फ्रेञ्चाइज लिगका कारण नेपालमै खेलेबापत पारिश्रमिक पाउनु व्यावसायिक अभ्यासको सुखद संकेत मानिएको छ।
यसैक्रममा नेपालमा विगत कयौं वर्षदेखि हिमालदेखि तराईसम्म लोकप्रिय मानिएको भलिबल अब खेलमामात्र सीमित नभएर युवालाई भविष्यको सम्भावनाको ढोका खोल्ने स्थितिमा पुगेको छ। मनोरञ्जनका साथै खेलाडीबीच आपसी प्रतिस्पर्धामा रुमलिरहेको भलिबल प्रतिभावान् खेलाडीको जीवन गुजारा गर्ने माध्यम बन्नसक्ने सम्भावना बढेको छ। नेपालमा पहिलोपटक उचाइको नयाँ उडान नाराका साथ यही भदौ १९ गतेदेखि सुरु भएको पुरुषको नेपाल भलिबल लिग एनभिएलले भलिबल खेललाई पनि पेसाका रूपमा स्थापित गर्दै व्यावसायिकताको नयाँ अध्याय सुरु गरेको छ।
निजी क्षेत्रको केडिया समूह तथा नेपाल भलिबल संघको सहकार्यमा आयोजित एनभिएल प्रतियोगितामा नेपाली खेलाडी विदेशी खेलाडीसँगै पारिश्रमिक लिएर विभिन्न छ वटा फ्रेञ्चाइज टिममा अनुबन्धित भएका छन्। नेपाल भलिबल लिग देशको व्यावसायिक फ्रेञ्चाइजमा आधारित पहिलो पुरुष भलिबल प्रतियोगिता हो। यसले भलिबल खेलको स्तर उकास्न, नयाँ प्रतिभाको खोजी गर्न तथा राष्ट्रिय खेलमार्फत देशलाई एकताबद्ध गर्ने अपेक्षा गरिएको छ। नेपालमा भलिबल खेललाई व्यावसायिक बनाएर खेलाडीहरूको यथोचित् प्रगतिका लागि सघाउनु प्रतियोगिताको मूल लक्ष्य रहेको छ।
बाढीपीडितप्रति समर्पित
भलिबल खेल अत्यन्त लोकप्रिय भएको रसुवा, नुवाकोट जिल्ला अहिले बाढीपहिरोले क्षतिग्रस्त भएको छ। विगतमा नियमितरूपमा अन्य खेलका साथै भलिबल प्रतियोगिता आयोजना हुँदै आएको रसुवामा बर्सेनि आयोजना हुने ‘रेडपाण्डा’ भलिबल प्रतियोगिताले नयाँ प्रतिभा जन्माउन योगदान गरेको छ। नुवाकोटमा राष्ट्रियस्तरका भलिबल प्रतियोगिता आयोजना हुनुका साथै राष्ट्रिय टिममा त्यहाँका खेलाडीको प्रतिनिधित्व भइसकेको छ।
रसुवा र नुवाकोटमा नेपाल भलिबल संघको जिल्ला शाखा क्रियाशील रहेका छन्। अब ती जिल्लामा जनजीवन सामान्य भई फेरि कहिले खेलकुद प्रतियोगिता सञ्चालन हुने हो कुनै टुंगो छैन। बाढी, पहिरोको क्षतिबाट मुलुक नै शोकाकुल अवस्थामा भएको बेला आयोजना भएको एनभिएल भलिबल प्रतियोगिता बाढीपीडितका लागि समर्पित गरिएको छ। प्रतियोगिताको पहिलो दिन टिकट बिक्रीबाट संकलन भएको रकम बाढीपीडितका लागि प्रदान गरिने भएको छ।
महिला भलिबल स्थगित
भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण भने स्थगित गरिएको छ। नेपालमा आयोजित एभरेस्ट महिला भलिबल लिग इभिएल प्रतियोगिता एसियाकै पहिलो व्यावसायिक महिला भलिबल लिग मानिएको छ। यो इण्डोर भलिबल फ्रेञ्चाइज लिग आगामी असोज १५ गतेदेखि सुरु गरिने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो। यसपालि स्वदेशी तथा विदेशी खेलाडीहरु सम्मिलित छ वटा टिमको प्रतिस्पर्धाका लागि आवश्यक तयारी गरिएको थियो।
टिमको संरचना
नेपालका विभिन्न प्रदेशको प्रतिनिधित्व गरेका छ वटा टिम सगरमाथा स्मासर्स, मधेस वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज तथा खप्तड फाल्कन्सले यो प्रतियोगितामा सहभागिता जनाउँदै छन्। प्रत्येक टिममा मुलुकको प्रतिनिधित्व गरेका एक खेलाडीलाई मार्की खेलाडीका रूपमा चयन गरिएको छ।
यसैगरी टिममा सात जना स्वदेशी खेलाडीलाई अनुबन्ध गर्नुपर्ने नियम रहेको छ। प्रत्येक टिमले ‘क’स्तरका चार जना खेलाडी आफ्नो टिममा राख्न पाउने छन्। यस्तै तीन जना विदेशी खेलाडीलाई टिममा समावेश गर्न पाइने छ। यस प्रतियोगितामा स्थानीय प्रतिभाशाली खेलाडीलाई पनि अवसर दिने लक्ष्यअनुसार हरेक टिमले छनोट शिविर सञ्चालन गरेर अनिवार्यरूपमा एक जनालाई समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
लाखौं पारिश्रमिक
एनभिएल भलिबलमा निजी क्षेत्रले ठूलो लगानी गरेका छन्। प्रतियोगिताको आयोजनादेखि लिएर सहभागी छ वटा टिमका लागि निजी क्षेत्रका व्यापारिक समुदायबाट आवश्यक लगानी गरिएको छ। नेपाली भलिबल खेलाडीलाई एनभिएल भलिबलमा लाखौं पारिश्रमिक लाखौं पारिश्रमिक दिने प्रतिबद्धता व्यक्त गर्दै अनुबन्धित गरिएको छ। उनीहरुलाई अक्सनमार्फत खेलाडीको स्तरअनुसार विभिन्न श्रेणी विभाजन गरी पारिश्रमिक निर्धारण गरिएको हो।
प्रत्येक टिममा महत्वपूर्ण खेलाडीका रूपमा चयन गरिएका मार्की खेलाडीलाई आकर्षक पारिश्रमिक दिइएको अपेक्षा गरिए पनि रकम भने घोषणा गरिएको छैन। खेलाडीको अक्सनमा ‘क’ श्रेणीका खेलाडीलाई एक लाख २० हजार रुपैयाँसम्म तथा ‘ख’ श्रेणीका खेलाडीलाई ७० हजार रुपैयाँसम्म निर्धारण गरिएको थियो।
यसैगरी, प्रत्येक टिमका लागि चयन गरिएका प्रमुख प्रशिक्षकलाई दिइने पारिश्रमिक पनि सार्वजनिक गरिएको छैन। विभिन्न टिमका लागि खेलाइने विदेशी खेलाडीलाई नेपाली खेलाडीभन्दा बढी पारिश्रमिकका साथै अन्य सुविधा प्रदान गरिएको छ।
विदेशी खेलाडीको आकर्षण
एनभिएल लिगको आकर्षण विदेशी खेलाडीको सहभागिता पनि हो। नेपाली दर्शकले विभिन्न मुलुकका खेलाडीलाई नेपाली खेलाडीका साथ टिममा देख्न पाएका छन्। यसबाट नेपाली खेलाडीले विदेशी खेलाडीसँग व्यक्तिगतरूपमा सम्पर्क हुने अवसर मिल्नुका साथै सीप सिक्ने मौका पाएका छन्। राम्रो प्रदर्शन गर्ने नेपालीका लागि भोलि विदेशी लिगमा सहभागिताको ढोका खुल्न सक्ने छ।्
प्रतियोगिताको सहभागी अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका तीन जना खेलाडीलाई भित्र्याएको छ। कर्णाली शिवराज टिमले पोल्याण्ड र बेलारुसका खेलाडीलाई आफ्नो टिममा समावेश गरेको छ भने मधेस वारियर्सले भारतीय खेलाडी एवं काठमाडौं रेडस तथा सगरमाथा स्म्यार्सले पाकिस्तानी खेलाडीलाई अनुबन्धित गरेका छन्। खप्तड फाल्कन्स टिमले ब्राजिल, रसिया तथा अफ्रिकी राष्ट्र बेनिनबाट खेलाडी भित्र्याएको छ।
बढ्दो फ्रेञ्चाइज लिग
नेपालमा विभिन्न खेलका व्यावसायिक फ्रेञ्चाइज लिग प्रतियोगिता आयोजना गर्ने क्रम बढ्दै गएको छ। निजी क्षेत्रको सक्रियतामा सम्बन्धित खेल संघको सहकार्यमा यस्ता प्रतियोगिता क्रमिकरूपमा आयोजना हँुदै आइरहेका छन्। नेपालमा फ्रेञ्चाइज लिगको सुरुआत क्रिकेटबाट भएको थियो। एभरेस्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताले नेपालमा व्यावसायिक फ्रेञ्चाइज लिगको प्रारम्भ गरेको थियो तर यो प्रतियोगिता चार संस्करणसम्म सञ्चालन भएपछि बन्द भएको थियो। धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिर पहिलोपटक खेलाडीको अक्सन प्रणाली सुरु गरेको थियो।
यस्तै, पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लोकप्रियता पनि कम छैन। नेपाल प्रिमियर लिग एनपिएल भने नेपालकै ठूलो ‘ट ट्वान्टी’ क्रिकेट लिगका रूपमा स्थापित हुन पुगेको छ। दुई संस्करण सफलतापूर्वक सञ्चालन भइसकेको एनपिएल यो वर्ष तेस्रोपटक आयोजना हुँदै छ। नेपाल सुपर लिग नेपालको पहिलो व्यावसायिक फ्रेञ्चाइज फुटबल प्रतियोगिताका रूपमा आयोजना हुँदै आएको छ।
नेपालमा महिला भलिबलको पहिलो फ्रेञ्चाइज लिग प्रतियोगिता एभरेस्ट वुमन्स भलिबल प्रतियोगिताको दुई संस्करण सम्पन्न भइसकेका छन्। बास्केटबल खेलतर्फ पुरुष तथा महिलाका लागि नेपाल बास्केटबल लिग पनि फ्रेञ्चाइज प्रतियोगिताको रूपमा स्थापित भएको छ। यसबाहेक, कबड्डी खेलको फ्रेञ्चाइज प्रतियोगिता आयोजना भइसकेको छ।
राष्ट्रिय खेल
नेपाल सरकारले गत २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो। कम खर्चमा गाउँदेखि सहरसम्म सजिलै खेल सकिने यस खेलको लोकप्रियतालाई दृष्टिगत गरेर सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो। पुरुष तथा तथा महिला दुवैको समान सहभागिता रहेको भलिबल खेल विद्यालय तहदेखि राष्ट्रियस्तरसम्म खेल्ने गरिएको छ।
अन्तर्राष्ट्रिय उपाधि
नेपाली भलिबल टिमले विगतमा विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ। पुरुष भलिबल टिमको तुलनामा महिला भलिबल टिमले उल्लेखनीयरूपमा उपाधि प्राप्त गरेको छ। बंगलादेशमा सन् २०१९ मा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई लगातार सोझो सेटले पराजित गर्दै भलिबलको इतिहासमा पहिलो उपाधि हासिल गर्दै स्वर्ण पदक जितेको थियो। सन् २०२१ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले उज्वेकिस्तानलाई फाइनलमा दुईकाविरुद्ध तीन सेटले पराजित गर्दै दोस्रोपटक उपाधि जित्न सफल भएको थियो।
नेपालको राष्ट्रिय पुरुष भलिबल टिमले सन् २०१५ मा आयोजित दक्षिण एसियाली पुरुष भलिबल च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेको थियो। यस्तै माल्दिभ्समा सन् २०१७ मा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमामा पनि नेपालले कास्य पदक जितेको थियो। केही सातापछि जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय भलिबल टिमले पनि प्रतिस्पर्धा गर्दै छ। भुटानमा जारी काभाबीच भलिबल प्रतियोगितामा पनि नेपालको तर्फबाट पुरुष तथा महिलाको चार बेग्लाबेग्लै टिमले प्रतिस्पर्धा गर्दै छन्।
समष्टिमा एनभिएल भलिबलले भलिबलको लोकप्रियतालाई अझ बढाउन महत्वपूर्ण भूमिका खेल्ने छ। यस्ता प्रतियोगिताका माध्यमबाट नयाँ प्रतिभाको जन्म हुने छ, जसले आगामी दिनमा नेपाली राष्ट्रिय टिमलाई अझ बलियो बनाउन सहयोग मिल्न जाने छ। मुलुकको खेलकुद विकासका लागि सरकारकोमात्र भर पर्नुपर्ने स्थितिको अन्त्य भई निजी क्षेत्रका व्यापारिक घरानाको पनि खेलकुदमा आकर्षण बढाउन यस्ता प्रतियोगिता उपयोगी सावित हुने आकलन गर्न सकिन्छ।
नेपालमा हाल आयोजना हुँदै आइरहेका विभिन्न फेञ्चाइज प्रतियोगिता प्रायः राजधानी काठमाडौंमामात्र सीमित रहेका अवस्थामा यसलाई राजधानीबाहिर पनि विस्तार गर्न सकिएका खण्डमा ओझेलमा परेका अन्य प्रतिभाशाली खेलाडी पनि लाभान्वित हुनसक्ने आकलन गर्न सकिन्छ। यसैगरी, खेलकुदप्रेमी स्वदेशी तथा विदेशीको संयुक्त सहभागिता रहेको टिमको स्तरीय प्रतियोगिता हेर्ने अवसरबाट लाभान्वित हुनसक्ने थिए। यस्ता प्रतियोगिताको आयोजनाबाट विभिन्न जिल्लामा खेलकुदका पूर्वाधार निर्माण हुनुका साथै फेञ्चाइज प्रतियोगिताका लागि लगानीका नयाँ सम्भावना खोज्न सघाउ पुग्नसक्ने अपेक्षा गर्न सकिन्छ। रासस