काठमाडौं- पुष्पकुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ठमेल काठमाडौंको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार नयाँ बजार, काठमाडौंमा संस्थाका अध्यक्ष विनोदकुमार लोहनीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले अध्यक्ष लोहनीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै, लेखा समितिद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन, लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसहित विभिन्न प्रस्तावहरू पारित गरेको जनाएको छ।
साधारण सभामा प्रस्तुत वासलातअनुसार चालु आर्थिक वर्षमा संस्थाको सेयर पुँजी ३ करोड ४० लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै, संस्थाको निक्षेप १६ करोड ९१ लाख ९० हजार ५ सय २३ रुपैयाँ रहेको छ भने कर्जा लगानी १७ करोड ७० लाख ५६ हजार २ सय ९५ रुपैयाँ पुगेको छ।
संस्थाको जगेडा कोषमा २ करोड ४ लाख ५ सय ९५ रुपैयाँ रहेको छ। सहकारीले विभिन्न वित्तीय कारोबारमार्फत चालु आर्थिक वर्षमा २४ करोड ९२ लाख २१ हजार ४ सय १ रुपैयाँ कुल कारोबार गर्न सफल भएको जनाएको छ। साधारण सभामा जनप्रतिनिधि, सहकारी अभियन्ता, संस्थाका शेयर सदस्य तथा कारोबारीलगायतको उपस्थिति रहेको थियो।
सभामा संस्थालाई थप सशक्त र व्यवस्थित बनाउँदै लैजाने, सदस्य तथा कारोबारीलाई सहज ढङ्गले ऋण प्रवाह गर्ने र संस्थाप्रति विश्वासको वातावरण थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। संस्थामा आबद्ध कारोबारी तथा सदस्यलाई प्राथमिकतामा राख्दै सहकारीको सेवा र गतिविधिलाई थप प्रभावकारी बनाउने निर्णयसहित साधारण सभा सम्पन्न भएको हो।