- रसुवाको स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी, मैलुङलगायत बस्ती बाढीले खण्डहर
- भूकम्पपीडित बसेको बस्ती खाल्टेलाई भोटेकोशीले सर्लक्कै बगायो
- बाढीग्रस्त क्षेत्रमा राहत पुगेको छ तर राहत थाप्ने मान्छे नै भेटिदैनन्
- नुवाकोटको बेत्रावती, त्रिशूली बजार बाढीले खण्डहर
- बाढीप्रभावित क्षेत्रमा दुगन्र्ध र महामारीको त्रास
रसुवा- भोटेकोशी-त्रिशूलीको भीषण बाढीपछि नदी तटीय बस्तीहरू मानवविहीन बनेका छन् । १० भदौको बिहान ९ बजेसम्म गुल्जार रहेका बस्तीहरू अहिले पूरै खण्डहर बनेका छन् ।
बस्तीहरूमा गेग्रानको थुप्रो छ । घरहरू ध्वस्त छन् । मानिसहरू बाढीसँगै बगेर गए । बगेकाहरू धेरैको अत्तोपत्तो छैन ।
रसुवाको सानोभार्कुका कार्साङ तामाङले स्याफ्रुबेँसीतिर देखाउँदै भने, ‘त्यहाँ वारी-पारि गरेर करिब ३०० घर थियो । अहिले त दुईवटा जतिमात्रै देखिन्छ । सबै बगर भयो ।’
भोटेकोशी नदीको जल सतहदेखि करिब १०० मिटर माथि स्याफ्रुबेँसी बस्ती थियो । गोसाइँकुण्डदेखि मानसरोवरसम्म जाने कतिपय तीर्थयात्रीहरू यहाँ बस्थे । होटल, पसल र मानिसहरूको चहलपहलले भरिएको बजार थियो । तर, बिहीबार धुञ्चेको फेदीबाट हेर्दा स्याफ्रुबेँसी बजार थियो भन्ने संकेत गर्ने दुई-तीनवटा संरचनामात्रै देखिए । त्यहाँ जान सकिने अवस्था छैन । कारण, नदीमा पुल छैन । तुइन जडान गरिएको छैन । चिलिमे जलविद्युत् आयोजनाबाट करिब ५० मिटर परको यो तटीय बस्ती अहिले नदीपारि एक्लिएको छ ।
जिल्लाकै टिमुरे, रसुवागढी र मैलुङका बस्ती पनि बगर बनेका छन् । अहिले ती ठाउँमा जाने भनेकै हवाई माध्यमबाट हो । स्थलमार्गबाट पुग्न सकिने अवस्था छैन ।
रसुवाको नौकुण्ड-५ का सुवास मोक्तानले माइला भाइ रसुवागढी क्षेत्रमा बाढीमा परी बेपत्ता भएपछि खोजीका लागि हेलिकप्टर नै प्रयोग गरे । उनले भोटेकोशी र त्रिशूली नदीको तिरैतिर शव खोजे । भाइ नभेटिएपछि खोजीको आशा पनि क्रमशः हराउँदै गएको छ । शुक्रबार बेत्रावतीदेखि केही माथि भेटिएका मोक्तानले प्रभावसँग भने, ‘टिमुरे, रसुवागढी, मैलुङदेखि केरुङसम्म जमिनबाट जान असम्भव छ । सबै बजार बगरैबगर बनेको छ र पुल नहुँदा ती ठाउँहरूसँगको सम्बन्ध टुटेको छ ।’
बाढीले घरमात्रै बगाएको छैन । सडक, पुल र बस्तीबीचको सम्बन्ध पनि बगाएको छ । नेपाल-तिब्बत युद्धपछि दुई देशबीच सन्धि भएको इतिहासमा छ, जसलाई बेत्रावती सन्धि भनेर चिनिन्छ । यो थापाथली सन्धिभन्दा अघिको सन्धि हो ।त्यसैले बेत्रावती नदी र त्यस आसपासको बगरमा स्थापित बजारको आफ्नै ऐतिहासिक महत्व थियो । तर, यतिबेला त्यो बजार पनि मानवविहीन छ ।
उत्तरगया मिनीमार्टबाट २४ जनाको शव फेला परेको चौथो दिन बेत्रावतीदेखि नै चण्डिका श्रेष्ठको सकुशल उद्धार भयो । त्यसले त्यहाँ अझै जीवन बाँकी रहेको आशा जगायो । तर, शुक्रबार बिहान त्यहाँ पुग्दा बस्ती भने उजाड थियो । कयौं विद्यार्थी बगाएको भनिएका बसहरू बेत्रावती नदीको एक कुनामा देखिन्थे । बस्तीका घरहरू भूत बंगालाजस्ता देखिन्थे ।
केही घरमा पकाउनका लागि भिजाएर राखिएको दाल उम्रिन थालेको थियो । कहीँ कतै मानिसहरू बोलेको सुनिँदैनथ्यो । बाढी आउनुअघि त्यहाँ मानिसहरू सामान्य जीवनमा थिए भन्ने प्रमाण ती भिजेका दाल र घरभित्र छाडिएका सामग्रीले दिइरहेका थिए । तर, मानिसहरू कहाँ गए भन्ने जवाफ दिन कोही थिएन ।
राहत वितरणका लागि गएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हेमराज थापाका अनुसार बेत्रावतीमा राहत थाप्ने एक जना पनि भेटिएनन् । गाडीगाडीमा राहत लिएर पुगेका उनले भने, ‘निकै कम बचेको सुनियो । उनीहरू पनि काठमाडौंको पहेँलो गुम्बातिर लगेको बुझियो र केही आफन्तको घरतिर गएका रहेछन् ।’ बाढीग्रस्त क्षेत्रमा राहत पुगेको छ । तर, राहत थाप्ने मानिस छैनन् ।
भूकम्पपीडितको दोस्रो बस्ती पनि बग्यो
तटीय अर्को बस्ती खाल्टेलाई भोटेकोशीले सर्लक्कै बगायो । यहाँ २०७२ वैशाख १२ गते गएको भूकम्पका पीडितहरू बसेको बजार थियो । सुरुमा रसुवाकै नौबिसे बसेका उनीहरू त्यहाँ सरकारले बहाल उठाउन थालेपछि सडक सञ्जालकोसमेत सुविधा भएको खाल्टेमा गएका थिए । भूकम्पले विस्थापित भएपछि उनीहरूले त्यहाँ नयाँ जीवन सुरु गरेका थिए ।
तर, जहाँ नयाँ जीवन सुरु गरिएको थियो, त्यही ठाउँमा अधिकांशको जीवन अन्त्य भयो । अर्थात् खाल्टे पनि मृत्युस्थल नै भयो । खाल्टेमा धन्नले बाँचेकी कुमारी तामाङ अहिले एक्लिएकी छन् । उनी भन्छिन्, ‘हेर्दाहेर्दै मेरा सबै साथीहरू बगायो । जे पाक्छ घरमा हामी बाँडिचुँडी खान्थ्यौं । अहिले म एक्लै छु । खाल्टेमा त भोटेकोशी बग्दै छ ।’
उनको भनाइले खाल्टेको अहिलेको अवस्था चित्रण गर्छ । हुन पनि जहाँ घरहरू थिए, त्यहाँ नदी बगिरहेको छ । जहाँ मानिसहरू सँगै बस्थे, त्यहाँ अहिले बाढीको पानी र गेग्रानको थुप्रो छ । रामचे, ठाडे, सिम्बुटार, त्रिशूली, ढुंगेबजार, देवीघाट हुँदै गल्छीसम्मका नदी किनारका बस्तीहरूको अवस्था पनि फरक छैन । नदीले आफ्नो बाटोमा परेका बस्तीहरू सखाप पारेको छ ।
उद्धारभन्दा ‘निरीक्षण’ प्राथमिकतामा ?
जिल्लास्तरमा संघीय सरकारको मुख्य प्रशासनिक अधिकारी हुन्- प्रमुख जिल्ला अधिकारी । जिल्लामा विपद्पछिको उद्धार, राहत र पुनःस्थापनामा पनि प्रमुख जिल्ला अधिकारी संयोजनकारी भूमिकामा हुन्छन् । जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, सरकारी अड्डा र सुरक्षा निकायलाई समन्वयमा ल्याउने जिम्मेवारी पनि उनकै हुन्छ ।
तर, रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको भूमिकामाथि स्थानीयले प्रश्न उठाएका छन् । स्थानीयको आरोप छ- प्रमुख जिल्ला अधिकारीले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यदेखि स्थानीय सरकारसँग आवश्यक समन्वय गर्नुपर्नेमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला सभापति वसन्त भट्टसँग बढी नजिक रहेर काम गरे ।
रसुवाका स्थानीय युवा बुद्धिजीवी विशाल घले थप्छन्, ‘हामीले सिडिओलाई यस्तो देख्न चाहेका थिएनौं । तर, उहाँ जसरी सत्तारुढ दलका जिल्ला सभापतिले जे भन्छन्, त्यही मान्ने, अरूको केही नसुन्ने, त्यस्तै परे फोन नै नउठाउने देखिए । यो विपत्तिमा उहाँको भूमिकालाई हामी सन्तुष्ट छैनौं ।’
स्थानीयको दाबीअनुसार भट्टकै निर्देशनमा चल्ने प्रमुख जिल्ला अधिकारी परियार १० भदौमा भोटेकोशी बाढीको निरीक्षण गर्न हेलिकप्टरमा उडे । त्यतिबेला भोटेकोशीको दलदलमा आधा शरीर फसेका र धन्नले जीवन जोगाएका नागरिकहरू उद्धारका लागि गुहार मागिरहेका थिए । घलेले भने, ‘यदि सिडिओ सा’ब बाढीको निरीक्षण होइन, उद्धारका लागि गएको भए टिमुरे, मैलुङ, रसुवागढी, स्याफ्रुबेँसीलगायत स्थानका विभिन्न नदी तटीय क्षेत्रमा अभर परेका नागरिकहरू झण्डै ३०० जति बाँच्न सक्थे ।’
प्रजिअ परियारमात्रै होइन, अर्को हेलिकप्टरमा निरीक्षणकै लागि भनेर जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी)द्वय पनि उडेका थिए । तर, स्थानीयको गुनासो एउटै छ कि उनीहरूको प्राथमिकता बाढीमा फसेका नागरिकको उद्धारभन्दा निरीक्षणमा केन्द्रित भयो । जबकि, बाढीमा फसेका मानिसका आफन्तहरू धन्नले बाँचेका नागरिकको शीघ्र उद्धार गरियोस् भनेर याचना गरिरहेका थिए । तर, स्थानीयका अनुसार त्यसो हुन सकेन । उद्धार ११ भदौदेखि सुरु भयो । यद्यपि, उद्धार कार्य प्रभावकारी नभएको भन्दै सरकारको सर्वत्र आलोचना भयो ।
‘इमेज ड्यामेज’ रोक्न युट्युबर ?
उद्धारमा ढिलाइ भएको आलोचना भइरहेका बेला सरकारले आफ्नो छवि बचाउन प्रचारलाई प्राथमिकता दिएको आरोप पनि स्थानीयले लगाएका छन् । पूर्वमन्त्रीसमेत रहेका रास्वपाका सांसद बब्लु गुप्ताले वालेन्द्र सरकारको ‘इमेज ड्यामेज’ नहोस् र भोटेकोशी बाढीबाट सर्वाधिक प्रभावित रसुवामा उद्धार र राहतको कार्य प्रभावकारी छ भन्ने देखाउन १२ जना युट्युबरलाई रसुवामा उतारेको स्थानीयको आरोप छ ।
उनीहरू तीन पटकमा चार जनाका दरले हेलिकप्टरबाट रसुवामा ओर्लिएका हुन् । बाढीमा आफन्तहरू गुमाएका कार्साङ तामाङले भने, ‘यहाँ सरकारी समर्थित युट्युबरहरूले उद्धार र राहत एकदमै प्रभावकारी भएको भनेर जसरी सरकारको जयजयकार गरिएको छ, धरातलीय यथार्थ बुझ्न जो कोहीले सक्छन् । आएर हेरे हुन्छ, बुझेर गए हुन्छ । स्थिति के छ ।’
राहत आयो तर गायब
उद्धारमा ढिलाइ भएको आरोपमात्रै होइन, राहत गायब पारेको घटना पनि सार्वजनिक भएको छ । स्रोतका अनुसार बाढीप्रभावित नागरिकका लागि भनेर ५० वटा एलपी ग्यास सिलिण्डर रसुवामा आएको थियो । ती, राहतस्वरूप आएका सिलिण्डर थिए ।
तर, ती कहाँ गए भन्ने विषयमा प्रश्न उठेको छ । स्रोत किटानका साथ भन्छ, ‘नेपाली सेनाले ३० वटा सिलिण्डर राख्यो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सात-सात वटाका दरले लिए । छ वटा कसले लिए भन्ने थाहा भएन ।’ यतिमात्रै होइन, भोटेकोशी बाढीले विभिन्न विद्युत् परियोजनाहरू बगाएपछि ४०० वटा सोलार प्यानल र २०० वटा पावर बैंक पनि राहतस्वरूप हेलिकप्टरबाट जिल्लामा ल्याइएको थियो । तर, ती सबै रास्वपाका कार्यकर्ताहरूलाई बाँडिएको स्रोतको दाबी छ ।
यी आरोपबारे प्रमुख जिल्ला अधिकारी परियारले भने आरोप अस्वीकार गरेका छन् । तर, राहत सामग्रीको व्यवस्थापन र वितरणमाथि प्रश्न उठेपछि त्यसको स्पष्ट विवरण सार्वजनिक हुनुपर्ने स्थानीयको माग छ ।
राहत प्रभावित क्षेत्रमा, पीडित काठमाडौंमा
भनिन्छ, भोटेकोशी र त्रिशूलीको विनाशकारी बाढीपछि नदी तटीय बस्तीमा धन्नले बाँचेकाहरू एकतिहाइ पनि छैनन् । उनीहरूमध्ये धेरै काठमाडौंको पहेँलो गुम्बामा आइपुगेका छन् । कोही स्वयम्भूमा छन् । कोही गाउँमा आफन्तको शरणमा पुगेका छन् । केही नुवाकोट सदरमुकाम बट्टारस्थित तामाङ प्लाजामा छन् । केही स्कुल, सामुदायिक भवन र कबर्ड हलमा बसिरहेका छन् ।
तर विभिन्न व्यक्ति तथा संघसंस्थाले गाडीका गाडी राहत बाढी प्रभावित क्षेत्रमा लगिरहेका छन् । जहाँ प्रभावितहरू नै छैनन् । क्षणभरमै आएको अकल्पनीय विनाशकारी बाढीले नदी किनारका बस्तीहरूको नामोनिशाना राखेन । त्यसो हुँदा रसुवाको स्याफ्रुबेँसी, रसुवागढी, टिमुरे, खाल्टेदेखि बेत्रावती हुँदै नुवाकोटको सिम्बुटारमात्रै होइन, त्रिशूली, ढुंगेबजारदेखि देवीघाटसम्मका बस्ती खण्डहर बनेका छन् । तर, राहतको प्राथमिकतामा पर्ने धेरै प्रभावित अहिले ती क्षेत्रमा छैनन् ।
उनीहरू सुरक्षित स्थान र आफन्तको शरणमा पुगेका छन् । जबकि, राहत प्रभावित क्षेत्रमा लगिएको छ । जुन व्यावहारिक देखिँदैन ।
दुर्गन्ध र महामारीको त्रास
१३ भदौमा ढुंगेबजारदेखि देवीघाटसम्म पुग्दा ती क्षेत्र दुर्गन्धित थियो । मानव र पशुका शवका क्षतविक्षत अंगले नदी किनारमा दुर्गन्ध फैलिएको थियो । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे स्थलगत निरीक्षणका क्रममा त्यहाँ पुगेका बेला दुर्गन्ध फैलिएको थाहा पाएपछि देवीघाटको सिरानमा रहेको प्रहरी पोस्टका प्रहरीलाई तत्काल त्यहाँ नबस्न सुझाव दिएका थिए । नभन्दै केहीबेरमै प्रहरीले पोस्ट खाली गरेर बट्टारतिर लागे ।
तर, दुई दिनपछि अर्थात् १४ भदौमा ती क्षेत्रमा पुग्दा दुर्गन्ध कम भएको पाइयो । कारण, त्रिशूली, सिम्बुटारदेखि ढुंगेबजार हुँदै देवीघाट क्षेत्रमा स्यानिटाइज गरिएको रहेछ । महामारी फैलिन सक्ने चेतावनी जनस्वास्थ्यविद्हरूले दिइरहेका बेला गरिएको स्यानिटाइजले दुर्गन्ध कम भएको थियो । काभ्रेको बनेपाबाट गएको स्वयंसेवकहरूको एक टोली बाढीपछिका केही दिन उद्धार कार्यमा खटिएपछि नदी तटमा स्यानिटाइज गर्न थालेको पाइएको हो । स्वयंसेवी गोविन्द बुढाथोकीले भने, ‘महामारी फैलिन सक्ने जोखिम बढेपछि चिकित्सकहरूसँगको परामर्शमा हामीले विभिन्न केमिकल मिसाएर स्यानिटाइज गरिरहेका गर्र्छौं ।’