पर्सा- वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने आठ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । गोलडेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा पर्साको सखुवाप्रसौनी गाउँपालिका-६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका-११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३६ वर्षीय प्रदीप पौडेललाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न चार कर्मचारी पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज-१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज-२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका-५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज-१२ का ५० वर्षीय प्रदेशी साह छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।