चितवन- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ। पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो।
नौबिसे-मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ। उनले भने, “हिजो खुलेको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ।” माथितिर भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका धेरै काम बाँकी छन्। सर्वसाधारणका गाडी गुड्न अझै समय लाग्ने उनको भनाइ छ।
अगामी भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको उनले बताए । उनले भने, “अब डिजाइनअनुसार काम गर्ने वातावरण बनेको छ। निर्माणका लागि आवश्यक प्राविधिक सामग्री र जनशक्तिको अभाव छैन। अब सडक डिजाइनअनुसार निर्माण हुन्छ र काम गर्न सहज भएको छ।” मिश्रका अनुसार अहिले खोलिएको ट्र्याक मुख्यतया निर्माणमा संलग्न कामदार र निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भएको छ।
नयाँ सडक खोल्ने काम निर्माण कम्पनी शर्मा-जेडआइभी जेभीले गरेको छ। कम्पनीका साइट प्रबन्धक इञ्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडबाट करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्र्याक खोलएको हो। उनले भने, “ट्र्याक खुलेपछि निर्माण सामग्री लैजान, इन्धन पुर्याउन र कामदार आवतजावत गर्न सहज भएको छ। अहिले यो ट्र्याक निर्माण प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको हो। सर्वसाधारणका लागि नयाँ सडक खुलेको होइन।”
उनका अनुसार अब स्लोप कटिङ, भित्ता काट्ने, ढुङ्गा थुपार्ने, ग्रेडिङ मिलाउनेलगायत धेरै काम अझै बाँकी छन्। आपत्कालीन अवस्थामा सर्वसाधारण पनि हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ। अब दुवैतर्फबाट डिजाइनअनुसार सडक निर्माणको काम अघि बढाइने उनले बताए। आजदेखि भारी उपकरणहरु थप गरिएको छ। दुई एक्साभेटर थप गरेर सात पुर्याइएको छ। एउटा जेसिबी, लोडर, दुई बुल्डोजर परिचालन गरिएको छ। आवश्यकताअनुसार उपकरण थप्दै लगिने उनले जानकारी दिए ।