भक्तपुर- बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्।
प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुगेका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्किएका हुन्।
राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए। नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसादस्वरुप प्रदान गरेको नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरंगी धागो उनले ग्रहण गरेका थिए।
नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गरे। राष्ट्रपति पौडेललाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद रुकेश रञ्जित, गंगालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखलगायत विभिन्न व्यक्तिहरुले स्वागत गरेका थिए।
एक लाख नगदसहित सम्मान
बागमती प्रदेशका मुख्यमन्त्री थापामगरले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई बागमती प्रदेश सरकारको तर्फबाट एक लाख रुपैयाँ प्रदान गरे।
सम्मानपत्र राष्ट्रपति पौडेलले समितिलाई हस्तान्तरण गरे। नवदुर्गा जात्रा सञ्चालनका लागि हरेक वर्ष आर्थिक कठिनाई हुँदै आएको अवस्थामा अब प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत एक लाख रुपैयाँसहित सम्मान गरेको मुख्यमन्त्री थापा मगरले बताए। नवदुर्गा जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले बताए।
विसं २०४५ मा भूकम्प गएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राष्ट्रप्रमुख यो पूजा अर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिए। नवदुर्गाअन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ। रासस