चितवन- पर्वको समयमा धेरैजसो राजनीतिज्ञ पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम भने जनताका समस्या सुन्न व्यस्त रहेकी छन्। उनले नदी तटीय क्षेत्रका समस्यादेखि गाउँगाउँमा पुगेर जनताको समस्या र गुनासा सुनेकी छन्।
माडीमा धान काटिरहेका किसानका खेतमा एकाएक उनी पुगेपछि धान काट्दै गरेका किसानहरू दङ्ग थिए । धान पाकेपछि चाडपर्व नभनी धान काटिरहेका किसानलाई भेट्न खेतमै मन्त्री गौतम पुगेपछि उनीहरूले आफ्ना समस्या र गुनासो खेतमा नै मन्त्रीसँग बिसाउन पाए ।
मन्त्री गौतमले माडी र भरतपुरका गाउँ-गाउँमा पुगेर दसैँको मौकामा शुभकामना आदान प्रदानसँगै स्थानीयका समस्या सुनिनन् । यस क्रममा भरतपुर र माडीका विभिन्न ठाउँमा पुगेर उनले नदी कटानका समस्या, हुलाकी सडक, कृषि उत्पादन, मल बिऊको उपलब्धता र बजार मूल्य जस्ता विषयमा चासो पूर्वक जानकारी समेत लिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले माडीका किसानका खेतबारीमा पुगेर भेट्नुभयो । त्यहाँका अग्रजसँग आर्शिवाद समेत लिइन् । खनालले भनिन्, “मन्त्रीलाई समस्या लिएर काठमाडौँ भेट्न जान चाहेकाहरूलाई गाउँ घरमै भेटेर समस्या तथा गुनासा सुन्नुभयो ।”
मन्त्री गौतमले नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गरेका थिए । उनले भरतपुर महानगरपालिका वडा नं. ३, १६, १७, २६, २७ र २८ का बासीन्दाहरूसँग प्रत्यक्ष भेटघाट गरी अपुरो रहेका तटबन्धनका काम सम्पन्न हुने विश्वास दिलाइन् । स्थानीयले उठाएका जोखिम न्यूनीकरण, तटबन्ध निर्माण र बस्ती सुरक्षासम्बन्धी माग सुनिन् ।
खनालका अनुसार नदी तटीय क्षेत्रको नारायणगढदेखि काभ्रेघाट, भङ्गेरीथान, ज्ञानेश्वर, सिद्घिगणेश, मझुवा, हिरापुरदेखि गोलाघाटसम्मका स्थानीयको नदीको जोखिमसँगै अन्य समस्याहरू पनि सुनेकी थिइन् । भरतपुर १६ का नन्दप्रसाद भट्टका अनुसार भेटका क्रममा मन्त्री गौतमले नदी तटीय क्षेत्रलाई बचाउने कुरामा आफू गम्भीर रहेको र छिटै तटबन्धनका बाँकी काम सम्पन्न गर्ने बताएकी थिइन् । सो क्रममा स्थानीयको कतिपय समस्या उनले तत्काल समाधानका लागि पहल अघि बढाएकी थिइन् ।
उनले भरतपुर महानगरपालिका वडा नं. ९, १३ लगायतका क्षेत्रहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट समेत गरेका थिए । दसैँको टीका अघि गृह जिल्ला आएकी गौतमले परिवारसँगभन्दा मतदातासँग धेरै समय बिताए। मतदाताका घर-घरमा पुगेकी उनलाई कतिपयले भरतपुर १५ स्थित निवासमा पुगेर पनि राति अबेरसम्म भेट गरेका थिए । क्रिकेट क्लब कर्णाली याक्सका अध्यक्षसमेत रहेका गौतमका श्रीमान् गृहेन्द्र घिमिरेका अनुसार मन्त्री गौतमको अधिकांश समय आम जनता र कार्यकर्तासँग बितेको थियो । राति अबेरसम्म समस्या लिएर स्थानीय नेता कार्यकर्ता घरमा आइपुगेको उनले बताए । दिनभरको समय मन्त्री गौतम जनताको घरदैलोमा पुग्ने गरेको घिमिरेको भनाइ छ ।
जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश आचार्यले मन्त्री भेटेर आफ्ना समस्या राख्न चाहेकाहरूलाई निवासमा पनि भेट गराइएको बताए । उनले भने, “मन्त्रीलाई दसैँमा अरुमा ध्यान थिएन । मतदाताहरू जति सकिन्छ धेरैसँग भेट गर्नु थियो ।” सोहीअनुसार भेट गरेर उनी फर्केकी आचार्यले जानकारी दिए । मन्त्री गौतमका हजुरआमा बितेका कारण आफूले टीका नलगाए पनि शुभकामना आदानप्रदानसहित जनताको माझमा अधिकांश बिदाको समय उनले बिताएको आचार्यले बताए ।
दसैँको बिदामा मन्त्री गौतमले जिल्ला आउनुभएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेट गराएका थिए । गौतम चितवन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य हुन् । उनी निर्वाचित भएसँगै माडी जाने हुलाकी सडकको निकुञ्ज क्षेत्रमा कालोपत्रे सडकको प्रक्रिया अघि बढेको छ । नारायणीमा बाँकी तटबन्धनका काम अघि बढेका छन् । यस्तै माडी लगायतका क्षेत्रमा पुल, सडकलगायतका विकास निर्माणका काम अघि बढेका छन् ।