काठमाडौं- मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित बुद्धनगरमा कम्पनीका अध्यक्ष राधेश्याम खड्काको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो।
सभाले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। साधारण सभाले कम्पनीको नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।
सभामा दिइएको जानकारीअनुसार कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ। त्यसमध्ये सेयरधनीतर्फ ६५ प्रतिशत अर्थात् ५२ करोड रुपैयाँ चुक्ता भएको छ। बाँकी ३५ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव स्वीकृत भएको जानकारी सभामा गराइएको थियो। कम्पनीले २०८३ असार मसान्तसम्म १४ करोड ५५ लाख ६२ हजार १०८ रुपैयाँ ८८ पैसा खुद आम्दानी गरेको जनाएको छ।
त्यस्तै, अन्य आम्दानीतर्फ २१ लाख ६८ हजार ५०६ रुपैयाँ आम्दानी भएको कम्पनीले जनाएको छ। कम्पनीको अधिकृत तथा जारी पुँजी १ अर्ब ४१ करोड ७१ लाख २६ हजार ८ सय रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ। साधारण सभामा उपस्थित सेयरधनीहरूले कम्पनीको वित्तीय अवस्था, आईपीओ निष्कासन तथा आगामी योजनालगायत विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए। उठाइएका सवालहरूको जवाफ कम्पनीका अध्यक्ष खड्का तथा अन्य पदाधिकारीहरूले दिएका थिए।
विविध कार्यक्रमका साथ सम्पन्न भएको साधारण सभाले कम्पनीको आगामी कार्यदिशा र योजनालाई समेत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकास्थित घट्टेखोलामा निर्माण भएको मनकामना इन्जिनियरिङ हाइड्रोपावरको क्षमता ५ मेगावाट रहेको छ। कम्पनीले २०७७ कात्तिकदेखि विद्युत्को व्यावसायिक उत्पादन सुरु गरी बिक्री वितरण गर्दै आएको छ।