काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विशाल ग्रुपले सहयोग गरेको छ। विशाल ग्रुपले २ करोड ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धारको लागि चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गरिएको हो।
ग्रुपले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।
विशाल ग्रुप लिमिटेडका तर्फबाट अशोक कुमार अग्रवालले अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन्। ग्रुपले बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, सम्पर्कमा आउन नसकेका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।