काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि बैंकको आगामी साधारणसभाबाट पारित गर्नुपर्नेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ। आधुनिक प्रविधि तथा उत्कृष्ट ग्राहक सेवाका कारण ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ।
त्यसैगरी बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरेको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको दाबी गरेको छ। हाल बैंकका ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्। यी संरचनामार्फत बैंकले कुल १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (युएई) र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ। बैंकका अनुसार यसले राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको छ।