ठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब आठ लाख रुपैयाँबराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।
विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिकरूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटस्थित नेपाली सेनालाई हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ । उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्याइने आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
‘बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको अवस्थामा उनीहरूलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफका कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हुन् । विपद्को समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन्,’ विज्ञप्तिमा भनिएको छ ।