काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउन ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरिएको जानकारी दिइन्। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नाइमाले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ
‘यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो। यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनुभएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ अध्यक्ष वैद्यले भनिन्।
सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले राहत तथा पुनस्र्थापनालाई प्रभावकारी बनाउन सक्ने उनको भनाइ छ।
नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्नसमेत आग्रह गरेको छ।