काठमाडौं- रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापना आवश्यक रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा उक्त सहयोग घोषणा गरेको हो।
एनसेलले बाढी तथा पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता तथा प्रभावित नागरिकको शीघ्र उद्धार र राहत व्यवस्थापनको कामना गरेको छ। विपद्को समयमा प्रभावित समुदायलाई सञ्चार सेवामार्फत समेत सहयोग गरिरहेको एनसेलले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई बुधबारदेखि लागू हुने गरी तीन दिनसम्म भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
यसबाट प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ। एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन घडीमा प्रभावित जनताको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन्। “उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौं,” उनले भनिन्, “यस विषम परिस्थितिमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौं।”
एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग र सहकार्य जारी राख्ने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ।