काठमाडौं- नेपालका लागि यामाहा दुईपाने सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा.लि.ले आगामी अगस्ट २५ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ को अनावरण गर्ने घोषणा गरेको छ।
'बर्न टु स्ट्यान्ड अपार्ट' अभियानको अवधारणामा केन्द्रित यस कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीहरूले पहिलोपटक यामाहाको नयाँ रेट्रो-मोडर्न मोटरसाइकललाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउने जनाइएको छ ।
यो मोटरसाइकल सडकमा आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउन चाहने तथा परम्परागत स्ट्रिट बाइकभन्दा फरक देखिन चाहने राइडरहरूका लागि डिजाइन गरिएको जनाइएको छ । यामाहा एक्सएसआर १५५ ले कालजयी मोटरसाइकल विरासत र आधुनिक कार्यक्षमताको एक अनुपम सम्मिश्रणलाई प्रस्तुत गर्दछ ।
यसको मुख्य विशेषताहरूमा आकर्षक टियरड्रप-आकारको फ्युल ट्यांक, रेट्रो शैलीबाट प्रेरित सिग्नेचर राउन्ड एलइडी हेडल्याम्प, फ्ल्याट बेन्च-स्टाइल सिट र मिनिमल तथा क्लिन बडीवर्क रहेका छन्, जसले यसलाई शक्तिशाली उपस्थिति र विशिष्ट क्लासिक स्वरूप प्रदान गरिएको छ। परिष्कृत १५५ सीसी इन्जिनद्वारा सञ्चालित एक्सएसआर १५५ ले दैनिक सहरी प्रयोग र उत्कृष्ट पर्फर्मेन्सबीच सन्तुलन कायम गर्दछ । यसले क्लासिक संरचनामै आधुनिक सुविधाहरू र प्रविधिलाई समायोजन गरी एक अद्वितीय राइडिङ अनुभव प्रदान गर्ने जनाइएको छ ।