काठमाडौं- एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन् । यस साझेदारीअन्तर्गत, २९९रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको वहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन् ।
त्यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । मंगलवार आयोजित एक कार्यक्रममा एनसेलका चीफ कन्ज्यूमर विजनेस अफिसर उपांग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सहकार्यवारे बोल्दै दत्ताले भने, 'नेपाल मेडिसिटीको स्वास्थ्य सेवालाई एनसेलका प्याकसँग जोडेर हामीले मोवाइल सेवा लिएका उपभोक्ता तथा प्रयोगकर्ताहरूलाई थप लाभ प्रदान गर्दैछौं ।
यसमा निःशुल्क चिकित्सक परामर्श सेवादेखि परामर्श शुल्कमा उल्लेखनीय छुटसम्मको व्यवस्था रहेको छ। यो साझेदारीले हाम्रा ग्राहकहरूलाई केवल कनेक्टिभिटी मात्र नभई स्वस्थ जीवनका लागि पनि सहयोग सुनिश्चित गर्दछ । यो हाम्रा ग्राहकहरूका लागि साँच्चै महत्त्वपूर्ण हुनेछ र यो ग्राहकलाई लाभ प्रदान गर्ने हाम्रो प्रतिवद्धताको अर्को कदम हो ।'
यस साझेदारीअन्तर्गतको सेवा लिन योग्य एनसेल ग्राहकहरूले एनसेल एपमा लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि एपभित्र पार्टनर्ड सर्भिसेज खण्डमा गई नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्ने हुन्छ। एपले योग्य ग्राहकहरूले प्राप्त गर्ने सुविधाको विवरण स्वतः देखाउनेछ । योग्य नदेखिएका ग्राहकहरूले यसका लागि आवश्यक प्याक वा रेन्टल सेवा लिएर यस सुविधाको लाभ लिन सक्नेछन् ।