काठमाडौं- रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० 'गोरखा एडिसन' नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालको गौरवपूर्ण इतिहास र सांस्कृतिक पहिचानलाई ध्यानमा राखेर तयार पारिएको यो मोटरसाइकल काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।
नेपालको समृद्ध गोरखा परम्पराबाट प्रेरित यस विशेष संस्करणमा आकर्षक गोरखा हरियो रङसँगै ऐतिहासिक क्रस खुकुरीको विशेष चिह्न राखिएको छ। यसमा सहज राइडिङ अनुभवका लागि असिस्ट एन्ड स्लिपर क्लच पनि उपलब्ध छ।
गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ।
विशेष गोरखा हरियो रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिह्न राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत झल्किने केही विशेष डिजाइन र फिचर थपिएको छ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपालका राइडरहरूमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए। गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए।
'गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित छ,' उनले भने, 'यो संस्करणमार्फत त्यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरेका छौं।'
नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्द्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए। गोरखा एडिसन नेपालको पहिचानसँग जोडिएको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास भएको उनको भनाइ छ।
'गोरखा विरासत साहस, दृढता र सम्मानको प्रतीक हो,' उनले भने, 'यही भावनालाई ध्यानमा राखेर तयार गरिएको यो विशेष संस्करणले नेपाली राइडरलाई आकर्षित गर्ने विश्वास लिएका छौं।'
कम्पनीका अनुसार क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ। सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लच पनि उपलब्ध छ। मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ। गोरखा विरासतबाट प्रेरित उक्त कलेक्सनमा राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेल तथा अन्य सामग्री समावेश छन्।

कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ र नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको छ। गोरखा एडिसन ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
रोयल इन्फिल्ड क्लासिक ३५० गोरखा एडिसन नेपालभर रहेका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ। यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
सन् १९०१ देखि मोटरसाइकल निर्माण गर्दै आएको रोयल इन्फिल्ड विश्वकै सबैभन्दा लामो समयदेखि निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो। बेलायती इतिहासबाट सुरु भएको रोयल इन्फिल्डले सन् १९५५ मा भारतको मद्रासमा उत्पादन सुरु गरेपछि भारतको मध्यम क्षमताका मोटरसाइकल बजारको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ।