काठमाडौं- गायक तथा संगीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ ।गीतको भिडियो गायक सिलवालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन्। प्रेमिल भावमा तयार गरिएको भिडियोमा एकतर्फी प्रेमको कथा प्रस्तुत गरिएको छ । खुसीप्रति आकर्षित भएका गौरव उनको प्रेममा परेपछि आफूमा परिवर्तन ल्याउँछन्। प्रेम प्राप्तिको पर्खाइमा रहेका गौरवले अन्ततः आफ्नो प्रेम पाउँछन् वा पाउँदैनन् भन्ने विषयलाई कथाकार शान बस्न्यातले भिडियोको कथाका रूपमा प्रस्तुत गरेका छन्।
अस्मिता रुचालको शब्दमा प्रकाश सिलवालले स्वर तथा संगीत दिएका छन् । गीतमा प्रेमले मानिसमा पार्ने प्रभाव र ल्याउने परिवर्तनलाई प्रस्तुत गरिएको छ । गीतको भावअनुसार भिडियो तयार गरिएको छ। भिडियोमा प्रेमीको भूमिकामा देखिएका गौरवले आफ्नो पात्रलाई जीवन्त बनाउने प्रयास गरेको बताए ।
‘मेरो पात्र एकोहोरो माया गर्ने प्रेमीलाई समर्पित छ, जसले आफ्नो प्रेमका लागि आफूलाई परिवर्तन गर्न सक्छ, कुर्न सक्छ र आफूलाई मन पर्ने मान्छेकै खुसीमा आफ्नो मन बुझाउन सक्छ,’ उनले भने। घामपानी पिक्चर्स प्रोडक्सनको प्रस्तुति रहेको भिडियोका निर्माता शान बस्न्यात हुन् । उनले नै भिडियोको कथा तथा पटकथा तयार गरेका हुन् । भिडियोमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा (चरी), युवक लामा (घाइते), कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने र सुजाता तिमल्सिनालगायतले अभिनय गरेका छन् ।
प्रणव केसीको निर्देशनमा तयार भएको भिडियोमा संगम राईको छायांकन, अञ्जली रिजालको स्टाइलिङ, ज्योति केसीको मेकअप, अलिजा सिजावालको हेयर तथा देव न्यौपानेको साउन्ड रहेको छ।