काठमाडाैं- हास्य कलाकार शिवशंकर रिजाल 'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' सार्वजनिक गरेका छन्। उनले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हुन् ।
उनले समसामयिक राजनीति, सरकार, नेताहरू तथा नेपाली समाजका विविध प्रवृत्तिमाथि व्यंग्य लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुत गरेका छन । 'बालेन सरकार'मा रिजालले सरकारलाई सल्लाह-सुझावको शैलीमा खबरदारी गर्दै समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन प्रक्रियामाथि पनि कटाक्ष गरेका छन्। उनले नेपाली समाजका बानीव्यहोरामाथि समेत व्यंग्य प्रहार गरेका छन्।
२३ वर्षदेखि नियमित रूपमा गाईजात्रे व्यंग्य प्रस्तुति ल्याउँदै आएका रिजालले 'बालेन सरकार' दर्शकलाई मनोरञ्जनसँगै चेतनामूलक सन्देश दिने उद्देश्यले तयार गरिएको बताए। 'गाईजात्रा हास्य कलाकारका लागि महान् उत्सव हाे', उनले भने, 'अहिले यस्ता प्रस्तुतिको व्यावसायिकता खासै छैन। तर दर्शक-श्रोताले हरेक वर्ष मेरो कोसेलीको प्रतीक्षा गर्नुहुन्छ, त्यसैले आम्दानीभन्दा पनि दर्शकको मायाका कारण निरन्तरता दिइरहेको छु ।'
लेखन, निर्देशन, प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘बालेन सरकार’ मा झलकमान गन्धर्वको चर्चित गीत 'आमाले सोध्लिन् नि' माथि प्यारोडी पनि बनाएका छन्। जसमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारले स्वर दिएका छन्। लोकराज अधिकारीको शब्द, अष्ट लामाको संगीत संयोज रहेको प्यारोडीमा एमाले, कांग्रेस, माओवादीसहित प्रमुख राजनीतिक दलहरूमाथि व्यंग्य गरिएको छ।
प्रस्तुतिमा समन अधिकारीको कोरियोग्राफी, प्रेम शर्माको सम्पादन र हरि ढकालको छायांकन रहेको छ भने पोस्ट-प्रोडक्सन कोचे मिडियाले गरेको हो। रिजालको 'बालेन सरकार' २३ औं कोसेली हो। गत वर्ष उनले ‘मिस चौरासी’ ल्याएका थिए। विसं २०६१ देखि हरेक वर्ष निरन्तर गाईजात्रे प्रस्तुति सार्वजनिक गर्दै आएका रिजाल गाईजात्रामा हास्यव्यंग्य प्रस्तुत गर्नु हास्य कलाकारको दायित्व भएको बताउँछन्।