काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सञ्चालन हुने भाषा परीक्षाको आवेदन दिने म्याद थप गरिएको छ । जसअनुसार साउन २० गतेसम्म आवेदन दिन सकिने वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी दिएको छ ।
इपिएस भाषा परीक्षाको आवेदन खुलेसँगै राहदानी विभाग तथा राहदानी सेवा केन्द्रहरुमा परेको अत्यधिक चाप न्यूनीकरण गर्न र योग्य नागरिक नछुटून् भन्ने उद्देश्यले फाराम भर्ने म्याद थप गरिएको सूचनामा भनिएको छ । एचआरडी सर्भिस अफ कोरिया, इपिएस कोरिया शाखा नेपाल, वैदेशिक रोजगार विभाग र कोरिया इपिएस शाखाको संयुक्त बैठकबाट म्याद थप गर्ने निर्णय भएको जनाइएको छ । यसअघि यही साउन १७ गते (अगस्ट २) गतेसम्म म्याद तोकिएको थियो ।
सूचनाअनुसार राहदानीको म्याद समाप्त भइसकेका आवेदकहरुले पनि सोही राहदानीको विवरण राखेर आवेदन दिन सक्ने छन् । भाषा तथा सीप परीक्षा उत्तीर्ण भई रोजगार आवेदन फाराम भर्ने समयसम्ममा म्याद बाँकी भएको राहदानी पेस गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।
केही दिनयता कोरिया रोजगारीका लागि आवेदन दिन नयाँ राहदानी बनाउने र म्याद सकिएका राहदानी नवीकरण गराउनेहरुको चाप बढेको जनाइएको छ । यसर्थ, दरखास्त फाराम भर्नकै लागि राहदानी नवीकरण गर्न नपर्ने भएको छ । राहदानी विभागको प्रणाली स्तरीकरणको कार्य भइरहेकाले अत्यावश्यक परेको अवस्थामामात्र राहदानीको आवेदन दिन पनि अनुरोध गरिएको छ ।
कोरियाले सन् २०२६ का लागि सात हजार २०० जनाको कोटा छुट्याएको छ । यस वर्षका लागि उत्पादनमूलक क्षेत्रमा पाँच हजार, कृषि तथा पशुपालनमा दुई हजार, सेवा क्षेत्रमा १०० र वन क्षेत्रमा १०० जनाले रोजगारीको अवसर पाउने जनाइएको छ । आकर्षक रोजगार गन्तव्य कोरियामा हरेक वर्ष मागको तुलनामा धेरै गुणा आवेदन पर्दै आएको छ ।