काठमाडौं- साउदी अरेबियामा श्रमिक पठाउँदै आएका वैदेशिक रोजगार व्यवसायीले आफ्नो साउदी रोजगारसम्बन्धी आइडी नवीकरण गर्दा छुट्टै प्रमाणपत्र पेस गर्न नपर्ने भएको छ । मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि र नेपालस्थित साउदी दूतावासबीच भएको छलफलपछि साउदी आइडी नवीकरण सहज बनाउने सहमति भएको संघले जनाएको छ ।
संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेत र सचिव केदार अधिकारीको पहलमा विगतको झण्झटिलो प्रावधान हटेको महासचिव हिराबहादुर डाँगीले बताए । उनका अनुसार अब साउदीमा नियमित श्रमिक पठाइरहेका इजाजत प्राप्त संस्थाको आइडी नवीकरण प्रक्रियामा विभिन्न प्रमाणपत्रको प्रमाणीकण आवश्यक पर्ने छैन । नवीकरणका लागि सक्कल कम्पनी दर्ता प्रमाणपत्र र वैदेशिक रोजगार व्यवसाय सञ्चालन इजाजतपत्र अन्य आवश्यक कागजातसँगै पेस गरे पुग्ने भएको छ ।
त्यस्तै, म्यानपावर कम्पनीको सञ्चालक तथा कर्मचारीको प्रहरी चारित्रिक प्रतिवेदनमा पनि परराष्ट्र मन्त्रालयको ‘मोफा एटेस्टेसन’ आवश्यक नपर्ने बताइएको छ । नवीकरण प्रक्रिया पूरा भएपछि सक्रिय अवस्थामा नरहेका संस्थाको स्थानमा अन्य इच्छुक इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायीलाई नयाँ आइडी उपलब्ध गराइने भएको छ ।
संघले दूतावासको ‘चेक लिस्ट’ र पछिल्लो सहजीकरणअनुसार आवश्यक कागजात तयार गरी आइडी नवीकरण गर्न व्यवसायीलाई आग्रह गरेको छ । विगतमा प्रमाणपत्रको व्यवस्थाका कारण कतिपय कम्पनीले आइडी नवीकरणमा ढिलाइ तथा प्रशासनिक झण्झट बेहोर्नुपरेको गुनासो गर्दै आएका थिए ।