काठमाडौं- नेपालीहरुको आकर्षक रोजगार गन्तव्य दक्षिण कोरिया तातो लहरको चपेटामा परेको छ । पछिल्लो साता ४० डिग्री सेल्सियसको निरन्तरको तातो लहरले मृत्यु हुनेहरुको संख्या बढेको जनाइएको छ ।
कोरियाली समाचार संस्था द चोसुन डेलीका अनुसार रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए)ले शनिबारसम्म देशभर गर्मीजन्य समस्याका एक हजार ३०१ वटा घटना रिपोर्ट गरेको थियो । जसमा छ जनाको मृत्यु भएको थियो । आइतबार थप पीडित र मृत्युका घटना दर्ता भएपछि गर्मीको असर अझ बढ्ने अनुमान गरिएको छ ।
पछिल्लो घटनामा आइतबार बिहान करिब ४ः०४ बजे उत्तर जिओल्ला प्रान्तमा एक जना १०० वर्षीया महिला खेतमा मृत फेला परेको समाचारमा भनिएको छ । अग्नि नियन्त्रकहरुले उनको शरीरको तापक्रम पत्ता लगाउँदा ४२.२ डिग्री सेल्सियस रहेको जनाइएको छ ।
त्यस्तै, शनिबार दक्षिण जिओल्ला प्रान्तको ह्यानेम-गुन, ह्वासान-म्योनमा खेतमा काम गरिरहेका करिब ३० वर्षीय थाई नागरिक बेहोस भएपछि उनको पनि मृत्यु भएको थियो । रिपोर्टका अनुसार उनी घाममा काम गर्दा टाउको दुखेको महसुस गरिरहेका थिए र घर फर्केर आराम गर्नुअघि बेहोस भएका थिए ।
जुलाई २३ मा साचेओन, साउथ ग्येओन्गसान्ग प्रान्तमा एक जना ९३ वर्षिय पुरुष धान खेतमा बेहोस अवस्थामा फेला परे । उनलाई नजिकैको अस्पताल लगिए पनि २५ तारिखमा उनको मृत्यु भएको थियो । २६ तारिखको दिउँसो एक बजे दक्षिण जिओल्ला प्रान्तको ह्वासुन-गुनमा ८० वर्षीय व्यक्ति खुर्सानीको खेतमा बेहोस भेटिएका थिए । उद्धार गरेपछि मापन गर्दा उनको शरीरको तापक्रम ४०.४ डिग्री सेल्सियस थियो । उनी बेहोस हुनुमा गर्मीजन्य कारण भए नभएको अनुसन्धान भइरहेको जनाइएको छ ।
दक्षिण जिओल्ला, उत्तर ग्यान्साङ्, दक्षिण ग्यान्साङ् र डेगूजस्ता दक्षिणी क्षेत्रहरुमा गम्भीर ‘हिट वेभ’को चेतावनी जारी गरिएको छ । तापक्रम ३८ डिग्री सेल्सियसभन्दा बढी भए यस्तो चेतावनी दिइँदै आएको छ । उच्च तापक्रमका कारण सबै उमेर समूहका व्यक्तिहरु उत्तिकै प्रभावित भए पनि ४० को दशकका मानिसहरु बढी प्रभावित भएको पाइएको छ ।
आइतबार कोरियाको मौसम विभाग र स्थानीय अग्नि प्राधिकरणले दिनको समयमा तापक्रम बढ्दै गएसँगै मानवीय क्षति बढ्दै गएको जनाएको छ । साउथ ग्येओन्गसाङ प्रान्तको याङसान भन्ने स्थानमा ३९.३ डिग्री सेल्सियस तापक्रम दर्ता भएको जनाइएको छ । जुन २००८ मा मौसम अवलोकन सुरु भएयता सबैभन्दा उच्च भनिएको छ । काङ्वोन प्रान्तका पहाडी क्षेत्रबाहेक देशका अधिकांश क्षेत्रमा पोल्नेगरी गर्मी अनुभव भएको समाचारमा जनाइएको छ ।
हिट वेभसम्बन्धी घटना खेत, धानबाली, निर्माणस्थल, माछा मार्ने जहाजजस्ता आउडडोर कार्यस्थलमा भएको र त्यसमा काम गर्नेहरु बढी प्रभावित हुने गरेको जनाइएको छ । अत्यधिक तापक्रमले पशुचौपायाको मृत्यु पनि बढाएको समाचारमा भनिएको छ । स्थिति खराब भएपछि, स्थानीय सरकारले आपत्कालीन प्रतिक्रिया प्रणाली सक्रिय पारेको भनिएको छ ।
मौसमविद्हरुले आगामी दिनमा अधिकांश क्षेत्रको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी पुग्ने सम्भावना रहेकाले दिनको सबैभन्दा तातो समयमा बाहिरी गतिविधि नगर्न, आवश्यक कामका लागि मात्र बाहिर जान र हाइड्रेटेड रहन भनेका छन् ।
कोरियामा हाल ४६ हजार ६०० भन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको तथ्यांक छ । उच्च तापक्रमका कारण सबैभन्दा धेरै प्रभावित बनेको जिओल्ला क्षेत्रमा विशेषगरी फिलिपिन्स, भियतनाम, थाइल्यान्डलगायत मुलुकका श्रमिक कार्यरत रहे पनि नेपालीहरुको संख्या उल्लेख्य रहेको बुझिएको छ ।