काठमाडौं- जापान सरकारले मुुलुक भित्रने विदेशी श्रमिकको संख्या निर्धारण गर्न विशेषज्ञ टोली गठन गर्ने भएको छ । सरकारले शुक्रबार यसै महिनाभित्र विज्ञ टोली गठन गरिसक्ने निर्णय गरेको जनाइएको छ ।
यो कदम प्रधानमन्त्री साने ताकाइचीको विशेष नीति भएको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ । जसअनुसार विदेशी श्रमिकको संख्यात्मक व्यवस्थापन र त्यसको उपायका साथै चालु आर्थिक वर्षभित्र ‘जनसंख्या रणनीति’ तयार गर्ने योजना बनाएको समाचारमा उल्लेख छ । यसका लागि त्यहाँका आर्थिक सुरक्षामन्त्री किमी ओनोडाले विशेष नियमहरुको अध्ययन गर्ने भनिएको छ । उनी ‘विदेशी नागरिकसँग सुव्यवस्थित र सुसंगत सहअस्तित्व भएको समाज’को जिम्मेवारी सम्हाल्ने मन्त्रीसमेत रहेका छन् ।
गत जनवरीमा जापान सरकारले विदेशी श्रमिकका लागि स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू)को बसोबास स्थिति र टेक्निकल इन्टर्न टे«निङ प्रोग्राम प्रतिस्थापन गर्न बनेको नयाँ प्रणाली इम्प्लोइमेन्ट फर स्किल डेभलपमेन्टका लागि आर्थिक वर्ष २०२८ सम्म एकमुष्ठरुपमा १२ लाख श्रमिक प्रवेश गर्न पाउने सीमा तय गरेको थियो । तर कुन वर्षमा कति श्रमिक लैजाने र विद्यार्थी तथा प्रशिक्षणजस्ता स्थितिमा हुनेहरुका लागि प्रवेश सीमा तय गरेको थिएन ।
सरकारी टोली मुख्यगरी अन्य आवास स्थिति र क्षेत्रगत श्रमिकको सीमा तोक्ने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । यसले पहिले नै जापानमा बसोबास गरिरहेका विदेशी नागरिक र उनीहरूसँग आउने परिवारका सदस्यलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल गर्ने समाचारमा भनिएको छ ।
समाचारका अनुसार जन्मदर घट्दै गइसकेको र वृद्ध जनसंख्या बढ्दै गएको अवस्थामा जापानले दिन प्रतिदिन गम्भीर श्रम अभावको सामना गरिरहेको छ । ऐतिहासिकरुपमा कमजोर जापानी येनका कारण विदेशी श्रमिकहरु अन्य मुलुकमा रोजगारी खोज्ने परिपाटी पनि देखापर्न थालेको छ । लिबरल डेमोक्र्याटिक पार्टीका धेरै सांसद तथा व्यवसायीहरुले नियमहरुमा कडाइ गर्नु समझदारीपूर्ण नहुने बताउँदै आएका छन् । यसलाई ध्यानमा राख्दै सरकारले नियमहरुका विषयमा सावधानीपूर्वक निर्णय लिने योजना बनाएको छ ।
जापान जाने श्रमिकले सीप र भाषा सिक्न आवश्यक छ । जापानमा नर्सिङ, केयरगिभर, भवन सरसफाइ, व्यवस्थापन, मेसिनका पार्टपुर्जा र औजार उद्योग, औद्योगिक मेसिन उत्पादन गर्ने उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि, निर्माण, पानीजहाज निर्माण र पानीजहाज मेसिनरीजस्ता क्षेत्रमा नेपालीहरु जाने गरेका छन् । त्यस्तै, अटोमोबाइल मर्मतसम्भार, उड्डयन क्षेत्र, आतिथ्य सत्कार, कृषि तथा माछापालन, खाद्य र पेयपदार्थ उद्योग र रेस्टुरेन्टको फुड सर्भिसमा जाँदै आएका छन् ।
जापान नेपालीहरुको प्रमुख १० गन्तव्य मुलुकमा पर्छ । श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकमध्ये जापानबाट खासै गुनासो नआउने, उत्कृष्ट काम गर्ने वातावरण र आकर्षक सेवा सुविधाका कारण जापान नेपालीले रुचाएको श्रम गन्तव्य बन्दै आएको सरोकारवाला बताउँछन् । गत आर्थिक वर्ष २०८२/८३ मा २२ हजार २६६ जना रोजगारीका लागि जावान गएका वैदेशिक रोजगार विभागको तथ्यांक छ । अघिल्लो आव २०८१/८२ मा २३ हजार ७१ जनाले जापान जान श्रम स्वीकृति लिएका थिए ।