काठमाडौं- नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अदालतको फैसलापछि मात्र अध्यक्ष पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ । गत असार ५ गते सम्पन्न १३औं साधारणसभाबाट निर्वाचित अध्यक्ष रामप्रसाद गैरे अयोग्य ठहर भएपछि रिक्त रहेको छ । अध्यक्षका अर्का प्रत्यासी किशोरकुमार केसीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेपछि एसोसिएसनले उक्त मुद्दाको फैसला कुर्ने निर्णय गरेको हो ।
अदालतले साउन ८ गते बोलाएको छ । अदालतको फैसलापछि मात्र चुनावको मिति तोक्छौं ।
सुवर्ण लामा
कार्यवाहक अध्यक्ष
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत सोमबार एसोसिएसनको काम कारबाही संस्थाको विधानबमोजिम गराउन आदेश दिएको छ । साथै, अध्यक्ष छनोटका लागि संस्थाको विधानबमोजिमको प्रक्रियाबाट निर्वाचन हुने र अदालतबाट कुनै आदेश प्राप्त भए सोहीबमोजिम गर्न भनेकाले अदालतको फैसला पर्खने निर्णय भएको एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले बताए ।
‘अदालतले साउन ८ गते बोलाएको छ । अदालतको फैसलापछि मात्र चुनावको मिति तोक्छौं । अदालतले जे निर्णय गरे पनि चुनावचाहिँ हुन्छ । कार्यसमितिको बैठकबाट त्यही निर्णय भएको छ,’ काव अध्यक्ष लामाले भने ।

एसोसिएसनको विधानको दफा ७ र ८ बमोजिम गैरे अयोग्य ठहर भएपछि जिल्ला प्रशासन कार्यालयले अध्यक्षका निकटतम उम्मेदवार किशोरकुमार केसीलाई अध्यक्ष तोकेको थियो । यद्यपि, निर्वाचित कार्यसमितिले केसीलाई अध्यक्ष मान्न तयार नभएपछि हाल प्रथम उपाध्यक्ष लामाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । केसीपक्ष भने अध्यक्षको जिम्मेवारी तथा असार ५ को निर्वाचनलाई लिएर अदालत गएको छ । केसीले निर्वाचित भएका अध्यक्ष गैरे, सल्लाहकार शंकरप्रसाद आचार्य, प्रथम उपाध्यक्ष लामा र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर मुद्दा हालेको बुझिएको छ । एसोसिएसनको विधानको दफा १३ को (४)मा अध्यक्षको पद रिक्त भएमा निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने प्रावधान रहेको छ ।