- उत्पादनमूलक क्षेत्रमा पाँच हजार, कृषि तथा पशुपालनमा दुई हजार, सेवा क्षेत्रमा १०० र वन क्षेत्रमा १०० जनाको कोटा
- एक जनाले एउटा क्षेत्रका लागिमात्र आवेदन दिनसक्ने
- जुलाई २७ देखि २ अगस्टसम्मका लागि अनलाइन आवेदन खोलिएको जानकारी
काठमाडौं- कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले मंगलबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो ।
उक्त सूचना अनुसार यस वर्ष (सन् २०२६) का लागि सात हजार २०० जनाको कोटा निर्धारण गरिएको छ । नेपाल र कोरिया सरकारबीच भएको समझदारीपत्रअनुसार रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत श्रमिक माग गरिएको जनाइएको छ । यस वर्षका लागि उत्पादनमूलक क्षेत्रमा पाँच हजार, कृषि तथा पशुपालनमा दुई हजार, सेवा क्षेत्रमा १०० र वन क्षेत्रमा १०० जनाको कोटा खुलाइएको छ । एक जना व्यक्तिले एउटा क्षेत्रका लागिमात्र आवेदन दिनसक्ने जनाइएको छ ।
इच्छुक नागरिकले आउँदो जुलाई २७ देखि २ अगस्टसम्म अनलाइन आवेदन दिनसक्ने जनाइएको छ । जसका लागि २८ अमेरिकी डलर शुल्क लाग्ने छ । आवेदन दिने व्यक्ति १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने छ । साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गएर गैरकानुनीरुपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सो भन्दा बढी नबसेको हुनुपर्ने छ ।
आवेदन प्रक्रिया सकिएर आवेदकको टुंगो लागिसकेपछि परीक्षाको मिति र तालिका सार्वजनिक हुने जनाइएको छ । कोरियामा कामदारको मागअनुसार उत्तीर्ण हुनेको संख्या थपघट हुनसक्ने पनि सूचनामा भनिएको छ । पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुने छ । अन्तिम परीक्षामा सफल भएका उम्मेदवारको वैधता नतिजा प्रकाशन भएको मितिले दुई वर्षसम्म हुने जनाइएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चिता नभएको पनि इपिएस शाखाले प्रस्ट पारेको छ ।
पछिल्लो पाँच वर्षमा ५५ हजार नेपालीलाई रोजगारी
भाषा परीक्षा उत्तीर्ण गरेर दक्षिण कोरियामा कार्यरत कामदारमध्ये नेपाली नागरिकको संख्या दोस्रो धेरै रहेको इपिएस शाखाले जनाएको छ । हाल ४६ हजार ६०० जनाभन्दा बढी नेपाली कोरियामा कार्यरत रहेको जनाइएको छ । पहिलोमा भने कम्बोडिया रहेको छ । उक्त मुलुकका ४९ हजार १०० भन्दा बढी श्रमिक त्यहाँ रोजगारीमा रहेका छन् ।
पछिल्लो पाँच वर्षमा १७ वटा स्रोत मुलुकबाट कूल चार लाख ११ हजार ९१४ जनाले कोरियामा रोजगारीको अवसर पाएकामा ५५ हजार १६९ जना नेपालबाट गएका छन् । सन् २०२२, २०२३ र २०२५ मा १७ मुलुकबाट गएका कामदारमध्ये सबैभन्दा धेरै नेपाली रहेका जनाइएको छ । सन् २०२१ मा ३८७, २०२२ मा १४ हजार ४९५, २०२३ मा १९ हजार ७३८, २०२४ मा नौ हजार ३०९ र २०२५ मा ११ हजार २४० जना नेपाली एपिएसमार्फत कोरिया गएको तथ्यांक छ । सन् २०२१ मा भने कोरोना महामारीका कारण न्यून संख्यामा कामदार लगिएको थियो ।
सन् २००८ देखि २०२५ सम्म कोरिया रोजगारीका लागि नेपालबाट नौ लाख ६०१ जनाले आवेदन फाराम भर्दा आठ लाख ३० हजार ११७ जना भाषा परीक्षामा सहभागी भएका शाखाले जनाएको छ । जसमध्ये हालसम्म एक लाख २५ हजारभन्दा धेरैले रोजगारीको अवसर पाइसकेका छन् । आवेदन दिने प्रत्येक सात जना युवामध्ये एक जनाले रोजगारीको अवसर पाउने गरेको देखिन्छ ।
नेपालीहरुको आकर्षक रोजगार गन्तव्य कोरियाले बर्सेनि खुलाउने मागका लागि कयौं गुणा बढी आवेदन पर्ने गरेको छ । मागको तुलनामा अत्यधिक धेरै आवेदन, दुई वर्षभित्र रोस्टर अवधि सकिएर रोजगारीको अवसर गुमाउनुपर्ने बाध्यता, यस प्रणालीप्रति असन्तुष्टि जनाउँदै बेलाबेलामा भइराख्ने आन्दोलनलगायतका कारण इपिएस प्रणालीप्रति असन्तुष्टि बढेको पाइन्छ । यसलाई मध्यनजर गर्दै आवेदनमा ‘भाषा परीक्षा पास गर्दैमा रोजगारीको सुनिश्चितता नहुने’ उल्लेख गर्ने गरिएको छ ।