- आव २०८२/८३ मा युएईमा रोजगारीका लागि जान श्रम स्वीकृति लिनेको संख्या एक लाख ८३ हजार ५८० जना
- आव २०८१/८२ को तुलनामा गत आवमा युएई जाने संख्या ९१ हजार १० जनाले घट्यो
- युएईपछि मलेसियामा एक लाख ३२ हजार ६४६ जना र कतारमा एक लाख ३२ हजार ५१ जना गएको तथ्यांक
काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ मा संयुक्त अरब इमिरेट्स (युएई) नेपालीहरुको पहिलो रोजाइको श्रम गन्तव्य बनेको छ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण युएईको रोजगारी प्रभावित हुँदा पनि सोही मुलुकमा सबैभन्दा धेरै श्रमिक गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
आव २०८२/८३ मा कूल एक लाख ८३ हजार ५८० जना श्रम स्वीकृति लिएर युएई गएका हुन् । जसमा एक लाख ५४ हजार ८९२ जना पुरुष र २८ हजार ६८८ जना महिला छन् । यद्यपि, उक्त मुलुक जानेहरुको संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा भने घटेको छ । सो आवमा दुई लाख ७४ हजार ५९० जना श्रम स्वीकृति लिएर युएई गएका थिए । आव २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा ९१ हजार १० जना कम श्रमिक युएई गएका छन् ।
जेन-जी आन्दोलनपछि युएईले नेपालीहरुको भिसा रोकिदिएको थियो । झण्डै तीन महिना रोकिएको युएई रोजगारी पुनः खुले पनि दूतावासबाट पुलिस रिपोर्ट प्रमाणीकरण अनिवार्य गरेपछि रोजगारीमा जानेहरु घटेको व्यवसायीले बताउँदै आएका थिए । त्यसपछि फागुन १६ गतेदेखि मध्यपूर्वमा द्वन्द्व निम्तिँदा खाडीको श्रम स्वीकृति डेढ महिनाभन्दा बढी बन्द भयो । जसको प्रभाव श्रमिक भर्ना प्रक्रियामा प्रत्यक्ष भएको पाइन्छ ।
युएईपछि दोस्रो प्रमुख गन्तव्य मलेसिया बनेको छ । गत आवमा खाडीको रोजगारी प्रभावित हुँदा मलेसियाले भरथेग गरेको देखिन्छ । गत आव २०८२/८३ मा एक लाख ३२ हजार ६४६ जना मलेसिया गएको तथ्यांक छ । जसमा एक लाख २८ हजार ७५३ जना पुरुष र तीन हजार ८९३ जना महिला छन् । जबकि, आव २०८१/८२ मा ४९ हजार १८७ जनामात्र मलेसिया गएका थिए ।
आव २०८२/८३ मा युएई र मलेसियाबाहेक अन्य प्रमुख गन्तव्य मुलुकको रोजगारी तुलनात्मकरुपमा न्यून घटबढ भएको देखिएको छ । तेस्रो प्रमुख गन्तव्य बनेको कतारमा गत आवमा एक लाख ३२ हजार ५१ जना गएका छन् । आव २०८१/८२ मा कतारमा एक लाख ४० हजार ७९२ जना गएका थिए । विभागका अनुसार कतारपछि साउदी अरबमा एक लाख २४ हजार ५८३ जना गएका छन् ।
आव २०८१/८२ मा उक्त मुलुक जानेको संख्या एक लाख ५२ हजार ५५७ थियो । त्यस्तै, गत आवमा पाँचौं प्रमुख गन्तव्य बनेको कुवेतमा ४३ हजार ३६० जना गएका छन् । गत आवमा रोजगारीको खोजीमा युवाहरु १५१ वटा मुलुकमा गएका पाइन्छ । जसमध्ये २९ वटा मुलुकमा एक हजारभन्दा धेरै श्रमिक जाँदा आठ वटा मुलुकमा एक जनामात्र गएको तथ्यांक छ ।
सीपयुक्त श्रमिक झण्डै ६१ प्रतिशत
विभागका अनुसार गत एक वर्षमा सात लाख ९२ हजार १८७ जना रोजगारीका लागि विदेसिँदा ६०.९२ प्रतिशत श्रमिक सीपयुक्त भएर गएका छन् । सीप सिकेर गएका श्रमिकको संख्या चार लाख ८२ हजार ६४३ जना रहेको छ । यसमा चार लाख १९ हजार ७७५ जना पुरुष र ६२ हजार ८६८ जना महिला छन् । त्यस्तै, अदक्ष श्रमिकको संख्या २४ प्रतिशत रहेको छ । रोजगारीमा एक लाख ६८ हजार ७५० पुरुष र २१ हजार ५१४ जना महिला गरी एक लाख ९० हजार २६४ जना श्रमिक कुनै सीप नसिकी गएका छन् ।
सो अवधिमा एक लाख १४ हजार ६१४ जना अर्धदक्ष श्रमिक परदेसिएका छन् । त्यस्तै, एक हजार ९६ उच्च दक्ष र तीन हजार ५७० जना व्यावसायिक कामदार रोजगारीमा गएका छन् । जिल्लागत तथ्यांकअनुसार गएको १२ महिनामा सबैभन्दा धेरै ३८ हजार ५५३ जना श्रमिक धनुषाबाट रोजगारीमा गएका छन् । त्यसपछि, झापाबाट ३५ हजार १२४, मोरङबाट ३१ हजार ९९०, सिरहाबाट ३० हजार २११ महोत्तरीबाट २८ हजार २२९ जना गएका छन् । सबैभन्दा कम मनाङबाट २१७ र मुस्ताङबाट २४४ जना गएका छन् ।