- ११ महिनामा कूल २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ भित्रियो
- सबैभन्दा बढी वैशाखमा दुई खर्ब ५७ अर्ब ४९ करोड भित्रिएको तथ्यांक
- ११ महिनामा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि

काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मासिक औसत एक खर्ब ९२ अर्ब ८० करोड रुपैयाँका दरले विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त आवको साउनदेखि जेठ मसान्तसम्म भित्रिएको रेमिट्यान्समा उक्त मासिक औसत दर कायम भएको हो ।
गत आवमा कूल २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले भित्र्याउने यो रकम हालसम्मकै उच्च हो । पछिल्लो समय सरकारले वैधानिक माध्यमबाट रकम पठाउन प्रोत्साहन गर्नेदेखि श्रमिकहरुमा वित्तीय साक्षरता बढ्दै जाँदा मुलुक भित्रने विप्रेषणमा उल्लेख्य वृद्धि भएको सरोकारवालाको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार आव २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको हो । अघिल्लो आव २०८१/८२ मा १७ खर्ब २३ अर्ब रुपैयाँ प्राप्त भएको थियो । गत आवको १० महिनामै १९ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी रकम मुलुक भित्रिएको थियो ।
प्रतिवेदनअनुसार गत जेठ महिनामामात्र वैदेशिक रोजगारीबाट दुई खर्ब तीन अर्ब ८९ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ प्राप्त भएको थियो । गत आर्थिक वर्षको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड, भदौमा एक खर्ब ७४ अर्ब ६७ करोड, असोजमा दुई खर्ब एक अर्ब २२ करोड, कात्तिक एक खर्ब ३३ अर्ब ८२ करोड, मंसिरमा एक खर्ब ८३ अर्ब १८ करोड, पुसमा एक खर्ब ९२ अर्ब ६२ करोड, माघमा एक खर्ब ९८ अर्ब आठ करोड, फागुनमा एक खर्ब ८८ अर्ब ६४ करोड, चैतमा दुई खर्ब नौ अर्ब ७५ करोड र वैशाखमा दुई खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भइ १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो । त्यस्तै, यस अवधिमा खुद द्वितीय आय २३ खर्ब २१ अर्ब सात करोड रुपैयाँ पुगेको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ पुगेको थियो ।
कुन महिनामा कति रेमिट्यान्स भित्रियो ?
महिना विप्रेषण
साउन १ खर्ब ७७ अर्ब ४१ करोड
भदौ १ खर्ब ७४ अर्ब ६७ करोड
असोज २ खर्ब १ अर्ब २२ करोड
कात्तिक १ खर्ब ३३ अर्ब ८२ करोड
मंसिर १ खर्ब ८३ अर्ब १८ करोड
पुस १ खर्ब ९२ अर्ब ६२ करोड
माघ १ खर्ब ९८ अर्ब आठ करोड
फागुन १ खर्ब ८८ अर्ब ६४ करोड
चैत २ खर्ब ९ अर्ब ७५ करोड
वैशाख २ खर्ब ५७ अर्ब ४९ करोड
जेठ २ अर्ब ३ अर्ब ८९ करोड