सेवा, सुविधा र अवसरहरूको खोजी तथा नयाँ सहरहरूको वृद्धिको कारणले सहरी क्षेत्रको जनसंख्या तीव्र वृद्धि हुँदै गएको छ । यसको परिणामस्वरूप सहरमा उपलब्ध सीमित आर्थिक-सामाजिक र भौतिक पूर्वाधार सेवाहरूमा अतिरिक्त चाप पर्न गएको छ । सहरको भौगोलिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, आर्थिक पक्षहरू विश्लेषण गरी सबल पक्षलाई ठम्याइ ‘एक सहर, एक पहिचान’को अवधारणामा सहर सुहाउँदो मौलिक पहिचान झल्कने हिसाबले पहिचानसहितको सहरी विकास योजनाबद्ध ढंगले गर्न सकेमा सहरले तुलनात्मक रूपमा बढी लाभ प्राप्त गरी मौलिक किसिमले सहरी विकास अगाडि बढ्नसक्ने देखिन्छ ।
साधारण शब्दमा हेर्दा सहर त्यो हो, जहाँ मानिसहरुको मुख्य पेसा कृषिबाहेक अन्य द्वितीय र तृतीय व्यवसायको रुपमा हुन्छ । जो यातायात, प्रशासन, शिक्षा, चिकित्सा आदि विविध प्रकारका सामाजिक सांस्कृतिक कार्यहरुको केन्द्रबिन्दु रहेको हुन्छ, जहाँ प्राकृतिक साधनहरुलाई स्वरुप गुणमा परिवर्तन गरी सामानको रुपमा प्रयोग गरिन्छ । अर्को शब्दमा घना आवादीको क्षेत्र नै सहर हो, जहाँ हरेक प्रकारका सुविधा प्राप्त हुन्छ । यस आधारमा हेर्दा सहर भन्नाले मानव निवासीहरुको त्यस प्रकारको स्थायी र सघन समूहलाई भनिन्छ जहाँ गैरकृषि क्षेत्रको प्रधानता रहेको हुन्छ ।
सहरीकरण शब्दको उत्पत्ति ल्याटिन शब्द ‘अर्बनस’ बाट आएको हो । सहरीकरणले त्यस प्रक्रियालाई संकेत गर्छ जसको माध्यमबाट सहरको निर्माण हुन्छ । यसको अतिरिक्त सहरीकरणको अर्थ मानिसहरुद्वारा सहरी सभ्यतालाई स्वीकार गर्नु हो । लगभग हरेक देशमा गाउँबाट सहरतिर जनसंख्याको बसाइसराइ हुन्छ । सहर शब्दले भूमिको उपयोग, सेवाको प्रावधान, स्थानीय अधिकार, भवन र सडकहरुको विभिन्न रुपलाई देखाउँछ । सहरी क्षेत्रले घनत्व, आकार, अवस्था र यसको प्रयोग गर्ने तरिकालाई देखाउँछ ।

सहरीकरणमा परिवर्तन ल्याउने तत्वहरु भन्नाले विभिन्न प्रकारका सामाजिक, आर्थिक, प्राविधिक तथा भौतिक पक्षलाई समेत लिने गरेको पाइन्छ । प्राविधिक शक्तिले प्रारम्भिक सहरी क्षेत्रमा परिवर्तन ल्याउने काम गरेको हुन्छ । सुधारिएको प्रविधिसँगै सहरी जीवनलाई पनि क्रान्तिकारी तुल्याउँदै लगिएको हुन्छ । सहरमा प्रविधिकै कारण यातायातको सुविधाले काम गर्न मानिसहरु धेरै किलोमिटर टाढासम्म जान सक्ने वातावरण भएको हुन्छ । किनभने, प्रविधिले दूरीलाई छोटो तुल्याउन मद्दत गरेको हुन्छ । सुन्दरता, स्वास्थ्य र भौतिक सुविधाहरु सहरी योजनाका धेरै महत्वपूर्ण तत्वहरु हुन् । सहरका भौतिक साधनहरु भवन, सडक र भूमि हुन् । भौतिक साधनलाई सामाजिक, आर्थिक र प्राविधिक तत्वहरुबाट पन्छिने कुरामा हेर्न सकिने छैन । प्राविधिक, आर्थिक, सामाजिक र भौतिक तत्वहरु सहरीकरणका प्रक्रिया परिवर्तन ल्याउने महत्वपूर्ण साधनहरु हुन् ।
प्राविधिक तत्वहरुले सहरी क्षेत्रका उत्पत्तिका लागि एउटा आधारलाई प्रोत्साहित गर्दछन् । सुधारिएको प्रविधि सहरी जीवनमा क्रान्ति ल्याउँछ । सहरमा जनसंख्याको वृद्धि, ठूलठूला भवनहरुको निर्माण, औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि, आधुनिक सुविधाको खोजी र विकास, घना र बाक्लो भई सहरले विगतको आफ्नो आधार स्थिति र स्वरुपमा परिवर्तन गर्दै आजभन्दा भोलि आफ्नो फैलावट बढाउने गर्छ । नेपालमा सहरीकरण र बसाइसराइको अवस्था र स्थितिलाई अध्ययन गर्दा महानगरपालिकाको १७ प्रतिशत सहरोन्मुख क्षेत्र रहेको तथा २.३ प्रतिशत ग्रामीण विशेषताको र ८०.७ प्रतिशत सहरी क्षेत्र रहेको तथ्यांकमा उल्लेख छ । गाउँपालिकाको दुई हजार ४१२ वडामा ५८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा रहेको देखिन्छ । जबकि, अधिकतम सहरोन्मुख ६६४ वडामा ३६.१ प्रतिशत र सहरकेन्द्रित १३९ वडामा ५.९ प्रतिशत जनसंख्या रहेको देखिन्छ । त्यस्तै, नगरपालिकाको २८.४ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा ५९१ वडा करिब ४६ प्रतिशत सहरोन्मुख क्षेत्रमा एक हजार २८५ वडा र अझै पनि २५.४ प्रतिशत एक हजार २४४ वडा ग्रामीण क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।
उपमहानगरपालिकामा पनि ३९ प्रतिशत जनसंख्या सहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत सहरी वर्गीकरणको क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ । नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख नै रहेको तथ्यांकले देखाउँछ । त्यसैगरी, सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको संख्या धेरै तीन हजार ६८५ छ । ती क्षेत्रमा कूल जनसंख्याको ३३ प्रतिशत बसोबास गर्ने देखिन्छ । राष्ट्रिय सहरी नीति, २०८१ का प्रमुख रणनीति र कार्यनीतिहरूमा अन्तरआबद्धता प्रवद्र्धन गर्ने, सहरी-ग्रामीण तथा क्षेत्रीय समुन्नत राष्ट्रिय सहरी प्रणाली र सहरी स्वरूपको विकास गर्ने उद्देश्य हासिल गर्न सहर र सहरी प्रणालीबीचको सम्बन्ध सुदृढ गर्ने, ठूला सहरहरूलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने, मौलिक सहरी तथा बस्ती स्वरूपको संरक्षण गर्ने रणनीतिहरू लिइएको छ । उक्त रणनीतिहरू कार्यान्वयनका लागि सहर तथा बस्तीहरूको वैज्ञानिक वर्गीकरण र सेवा पूर्वाधारको मापदण्ड तोक्ने, ट्राञ्जिट ओरिएन्टेड विकासलाई प्रोत्साहन, बृहत्तर सहरी क्षेत्र र सहरी आर्थिक करिडोरको एकीकृत विकास, योजनाबद्ध र एकीकृत बस्ती निर्माण, बजार केन्द्र र साना सहरहरुको विकास, सम्पदा बस्तीको निर्मित वातावरणको संरक्षण र स्थानीय तहका केन्द्रको योजनाबद्ध विकास गरिनेलगायतका कार्यनीतिहरू प्रस्तुत छन् ।
आर्थिक सर्वेक्षण २०८२/८३ मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा सहरी विकास, आवास तथा ऊर्जा विकास कार्यक्रमअन्तर्गत गाउँबाट सहर रुपान्तरणको क्रम बढेसँगै जनसंख्याको भौगालिक संरचनामा पनि परिवर्तन भएको छ । करिब १७.० प्रतिशत भू-भाग ओगटेको तराई मधेसमा ५३.७ प्रतिशत जनसंख्या रहेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा ४६.३ प्रतिशत जनसंख्या रहेको छ । खुम्चिँदो ग्रामीण जनसंख्या र बढ्दै गएको सहरी जनसंख्याका कारण पहाड तथा हिमालमा पूर्वाधार निर्माण तथा सेवा सुविधामा प्रतिव्यक्ति लागत बढ्दै गएको छ । जनघनत्व अधिक रहेका तराई मधेसमा ठूला पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्ने छ । विद्युत्मा मुलुक आत्मनिर्भर उन्मुख हुँदै गएको छ । विद्युत् उत्पादनमा निरन्तर वृद्धि हुँदै गई २०८२ फागुनसम्म कूल विद्युत् जडित क्षमता चार हजार १५ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारणलाइन (६६ केभी र सो भन्दा मािथको लम्बाइ) सात हजार २८० सर्किट किलोमिटर पुगेको छ । साथै, यस अवधिसम्म ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ ।
बसाइसराइले राजनीतिक क्षेत्रमा ठूलो प्रभाव पर्दछ । उक्त ठाउँको लोकप्रिय नेता बसाइ सरेर अर्को ठाउँमा गई सो ठाउँलाई आफ्नो राजनीतिक कार्यक्षेत्र बनाएमा त्यहाँ नयाँ राजनीतिक समीकरण उत्पन्न हुन सक्दछ । बसाइसराइको कारणले गर्दा राजनीतिज्ञहरुबीच कुनै ठाउँमा सामान्य प्रतिस्पर्धा र अर्को ठाउँमा कडा प्रतिस्पर्धाको अवस्था सिर्जना हुनसक्दछ । त्यसमा पनि हाम्रोजस्तो बहुभाषी, बहुधर्म र बहुजाति भएको देशमा यसले ठूलो महत्व राख्दछ । आकर्षक तत्वहरु बढी भएको सुगम ठाउँमा जनसंख्याको चाप बढी र विकर्षण तत्वहरु बढी भएको गाउँ, पहाड तथा हिमालमा जनसंख्या क्रमिकरुपमा घट्दै गई रित्तिन पुग्दछ । यसको परिणामस्वरुप सामाजिक अस्थिरतामा अभिवृद्धि हुन्छ ।
जनघनत्व बढी भएको क्षेत्रमा रोग, भोक, दूषित पदार्थ, फोहोर र प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पर्दछ । यसबाट महामारीको सम्भावना पनि बढ्न थाल्छ । जनसंख्याको चाप अत्यधिक भएको क्षेत्रमा प्राकृतिक स्रोत र साधन बढी हुन गई पारिस्थितिक प्रणाली खल्बलिन थाल्दछ । यसबाट वातावरणीय प्रदूषण बढ्न गई मानिसलगायत अन्य जीवजन्तुलाई बाँच्न मुस्किल पर्दछ । अत्यधिक बसाइसराइ हुन गएको अवस्थामा खेतीयोग्य भूमीमा धेरै घर बनाउनुपर्दछ । यसले गर्दा उब्जनी हुने भूमिमा घर बनाउन परी खानाको आपूर्ति मै संकट पर्दछ ।
विदेशबाट खाद्यान्न आयात गर्दा महँगो पर्न जान्छ । यस्तो खाद्यान्न किन्न आयस्रोत कम भएका जनताहरुलाई निकै मुस्किल पर्दछ । बसाइसराइको कारणले अत्यधिक जनघनत्व हुन गई यातायात, विद्युत्, सञ्चार आदिका आपूर्तिमा कठिनाइ उत्पन्न हुन्छ । राष्ट्रलाई विद्यालय, स्वास्थ्य चौकी, शान्ति सुरक्षाजस्ता आधारभूत र अपरिहार्य सेवा उपलब्ध गराउन कठिन पर्दछ । वनजंगलको फँडानी हुन गई अतिक्रमण बढ्नाले वन्यजन्तु तथा बहुमूल्य प्राकृतिक सम्पदाहरु नष्ट हुँदै जान्छन् ।
सहरी क्षेत्रमा बसोबास गरिरहेको जनसंख्या करिब ४२ प्रतिशत रहेको अनुमान छ । सेवा, सुविधा र अवसरहरूको खोजी तथा नयाँ सहरहरूको वृद्धिको कारणले सहरी क्षेत्रको जनसंख्या तीव्र वृद्धि हुँदै गएको छ । यसको परिणामस्वरूप सहरमा उपलब्ध सीमित आर्थिक-सामाजिक र भौतिक पूर्वाधार सेवाहरूमा अतिरिक्त चाप पर्न गएको छ । सहरको भौगोलिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, आर्थिक पक्षहरू विश्लेषण गरी सबल पक्षलाई ठम्याइ ‘एक सहर एक पहिचान’ को अवधारणामा सहर सुहाउँदो मौलिक पहिचान झल्कने हिसाबले पहिचानसहितको सहरी विकास योजनाबद्ध ढंगले गर्न सकेमा सहरले तुलनात्मक रूपमा बढी लाभ प्राप्त गरी मौलिक किसिमले सहरी विकास अगाडि बढ्नसक्ने देखिन्छ ।
तसर्थ, योजनाबद्ध सहरी विकासमार्फत स्वच्छ, सुरक्षित र समृद्ध पहिचानमय सहरहरूको विकास गरी मागअनुसार नागरिकहरूलाई सर्वसुलभ र भरपर्दो तरिकाले गुणस्तरीय सहरी सेवा तथा सुविधा उपलब्ध गराई सहरी बासिन्दाको जीवनस्तरमा सुधार ल्याउनु आवश्यक भएको छ ।