काठमाडौं -अमेरिकातर्फ निर्यात गर्न लागिएको कार्गोबाट सुन तथा चाँदीजस्ता देखिने १ सय ३ प्रकारका गरगहना बरामद गरेको जनाएको छ।
अमेरिकातर्फ निर्यात गर्न लागिएको कार्गोबाट कपडाका सामग्री उल्लेख गरिएकोमा एक्स–रे परीक्षणका क्रममा शंका लागेपछि खोलेर जाँच गर्दा गरगहना फेला परेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएकाे हाे ।
भन्सारका अनुसार २०८२ असार १६ गते बिहान करिब १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा Manifest No. AMS AP 321 मा जुत्ता, पाइप, सारी तथा अन्य कपडाका सामग्री उल्लेख गरिएको कार्गो एक्स–रे परीक्षणका क्रममा शंका लागेपछि खोलेर जाँच गर्दा गरगहना फेला परेका हुन्।
उक्त सामान झापास्थित Unique Cargo Jhapa ले Apex Logistic Pvt. Ltd. मार्फत अमेरिकाको न्युयोर्क पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्सारले जनाएको छ। घटनामा Apex Logistic Pvt. Ltd. का सञ्चालक ४६ वर्षीय यशराज सुवेदी र Unique Cargo Jhapa का सञ्चालक ४८ वर्षीय रामप्रसाद दाहाललाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
बरामद गरिएका सामग्रीमध्ये सुनजस्ता देखिने ९६ र चाँदीजस्ता देखिने ७ गरी कुल १ सय ३ प्रकारका गरगहना रहेका छन्।सुनजस्ता देखिने गरगहनामा चोखे दुलो, सानो तथा ठूला थान, चन्द्रमा, जन्तर, सिंगल र डबल ब्रोच, शिरफुल, नेपालको झण्डा अंकित ब्रोच, खुकुरी आकारको ब्रोच, मंगलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल लगायतका सामग्री रहेका छन्।
यस्तै चाँदीजस्ता देखिने गरगहनामा नेवलेस गोलोवाला, नेवलेस चापटे, काँडावाला चुरा, झुम्का, तिलहरी, शिरबन्दी सेट तथा धोतीमा लगाइने सिक्री रहेका छन्। भन्सार कार्यालयले बरामद गरिएका गरगहनाको धातु परीक्षण तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।