काठमाडौं -पलापु लिफ्ट खानेपानी योजनाको बैंक ग्यारेन्टी हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित पलापु लिफ्ट खानेपानी योजनाको कार्यसम्पादन जमानत (बैंक ग्यारेन्टी) रकम हिनामिना भएको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुई पक्षविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वडा नं. १ र २ अन्तर्गत सञ्चालित वृहत खानेपानी योजनाका लागि दुई करोड २० लाख रुपैयाँ विनियोजन गरिएको थियो। सो योजनाअन्तर्गत शिरिस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भई १८ लाख ५० हजार रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जारी गरिएको थियो।
अनुसन्धानका क्रममा निर्माण कम्पनीले तोकिएको समयमा काम नगरेपछि गाउँ कार्यपालिकाले ठेक्का सम्झौता रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको भए पनि उक्त निर्णय कार्यान्वयन नगरी बदनियतपूर्वक लुकाइएको आयोगको आरोप छ। साथै, कार्यसम्पादन जमानतको म्याद सकिएपछि मात्र ठेक्का अन्त्य भएको जानकारी गराइएको र बैंकलाई जमानत रकम असुल गर्न ढिलो गरी पत्राचार गरिएको पाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार यसरी कानुनी व्यवस्था र सम्झौताका सर्तविपरीत कार्य गर्दा १८ लाख ५० हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी रकम जफत हुन नसकी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुगेको पुष्टि भएको छ।यस प्रकरणमा चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीविरुद्ध १८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ।
त्यसैगरी, शिरिस कन्स्ट्रक्सन तथा कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध पनि मुख्य कसुरदारसँग मिलेमतो गरी गैरकानुनी लाभ लिएको आरोपमा भ्रष्टाचार निवारण ऐनअनुसार मुख्य कसुरदारसरह सजायको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।