
काठमाडौं– नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ । योसहित निगमले लकडाउन अवधिमै तीन पटक पेट्रोलको मूल्य बढाएको हो ।
पछिल्लोपटक निगमले पेट्रोलको भाउ बढाएको तीन साता पनि भएको छैन । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रूपैयाँ बढेको हो ।
भारतीय आयल कर्पोरेसनले १ सेप्टेम्बरमा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा पेट्रोलको मूल्य बढेको प्रवक्ता उपाध्यायले बताए ।
अब पेट्रोल प्रतिलिटर १०७ रूपैयाँ पुगेको छ । डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।
यसअघि ३२ साउनमा डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको थियो ।
निगमले करिब पाँच महिने लकडाउनकै अवधिमा पनि पेट्रोलको मूल्य बढाएको थियो । त्यसपछि ३२ साउन भाउ बढाएको थियो ।
लकडाउन र निषेधाज्ञाका कारण सडकमा सवारी साधन अत्यावश्यकबाहेक गुडेका छैनन् । त्यसैले लकडाउनअघि नै सञ्चित गरिएका पेट्रोलियम पर्दाथ समेत खपत हुन सकेको छैन ।
यसैबेला निगमले पेट्रोलको मूल्य बढाएको हो ।