काठमाडौं - इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा जान आवेदन दिएकाहरुलाई प्रहरी प्रतिवेदन अपलोड गर्न आग्रह गरिएको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना जारी गरी प्रहरी प्रतिवेदन अपलोड गर्न बाँकी रहेकाहरुलाई तत्काल अपलोड गर्न आग्रह गरेको हो ।
दीर्घकालीन स्याहार केन्द्रमा जाने नेपाली सहायक कामदारका लागि गत जेठ १३ गते विज्ञापन प्रकाशित गरी दरखास्त आह्वान गरिएको थियो । सो दरखास्तमा परेका आवेदनहरुको भेरिफिकेसन र एप्रुभ गर्ने कार्य भइरहेको विभागको सूचनामा उल्लेख छ ।
यसअघि विभागले प्रहरी प्रतिवेदन अपलोड गर्नका लागि असार १४ गतेसम्मको सीमा तोकेको थियो । तर, विभागबाट एसएमएस÷इमेल प्राप्त हुन नसकी प्रहरी प्रतिवेदन अपलोड गर्न बाँकी रहेका आवेदकहरुलाई लक्षित गरी सूचना जारी गरिएको हो । एसएमएस÷इमेल प्राप्त भएपछि फर्मस्को अनलाइन प्रणालीबाट उम्मेदवार स्वयंले आफ्नो युजर आइडी र पासवर्ड प्रयोग गरी प्रहरी प्रतिवेदन अपलोड गर्न सकिने विभागले सूचनामार्फत जानकारी दिएको छ ।