- साउनदेखि जेठ मसान्तसम्मको अवधिमा एक हजार ४३८ जनाको मृत्यु वैदेशिक रोजगार बोर्डको तथ्यांक
- जेठ महिनामामात्रै १४४ जना श्रमिकको मृत्यु
- हृदयघात, कार्यस्थल तथा सडक दुर्घटना, आत्महत्यालगायत कारण मृत्यु हुने गरेको जानकारी
काठमाडाैं- चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजार ४०० भन्दा बढी श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार गत साउनदेखि जेठ मसान्तसम्मको अवधिमा एक हजार ४३८ जनाको मृत्यु भएको हो ।
जेठ महिनामामात्रै १४४ जना श्रमिकको ज्यान गएको छ । उक्त ११ महिनामा बोर्डले ४७९ जनाको शव नेपाल झिकाइदिएको छ भने ९०५ जनाको शव उनीहरुको घरसम्म ढुवानी गरिदिएको छ । गत जेठ महिनामामात्र ४२ वटा शव झिकाएको र १०३ वटा शव ढुवानी गरेको बोर्डको तथ्यांक छ ।
रोजगारीमा जाने श्रमिकको हृदयघात, कार्यस्थल तथा सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले मृत्यु हुने गरेको छ । यस्तो संख्या धेरै श्रमिकहरु जाने मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारलगायतका मुलुकमा बढी भएको पाइन्छ । बोर्डले रोजगारीमा गएका श्रमिकको करार अवधिभित्रै या करार सकिएको एक वर्षभित्र मृत्यु भए १० लाख रुपैयाँ आर्थिक सहायता दिँदै आएको छ ।
बोर्डले चालु आवमा १९४ जनाको उद्धार तथा खोजतलास गरेको जनाएको छ । विदेशमा कानुनी सजाय पाएका, दुर्घटनामा परेका तथा विभिन्न समस्याले स्वदेश फर्किन समस्या भएका कामदारको उद्धार तथा खोजतलास गर्दै आएको छ । गएको एक महिनामा २० जना श्रमिकको उद्धार गरिएको छ ।
रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य करार अवधिभित्र गम्भीर प्रकृतिका बिरामी परेर उपचार गराउन आर्थिक समस्या भए बोर्डले एक पटक ५० हजार रुपैयाँसम्म उपचार खर्च दिन्छ । परिवारमा कसैलाई पार्किन्सन, क्यान्सर, मिर्गाैला प्रत्यारोपण, मुटुको शल्यक्रिया तथा अल्जाइमरजस्ता गम्भीर प्रकृतिका रोग लागे यस्तो सहयोग पाइन्छ । यो ११ महिनामा ४३३ जनाले पारिवारिक औषधि उपचार खर्च पाएका छन् । वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा गम्भीर बिरामी भएका ९६० जना कामदारले आर्थिक सहायता पाएका छन् । त्यस्तै, एक हजार ५३६ जनाले यस अवधिमा अभिमुखीकरण तालिम लिएका छन् ।
बोर्डले श्रमिकका सन्ततिलाई छात्रवृत्तिसमेत दिँदै आएको छ । रोजगारीमा गएका श्रमिकको मृत्यु, अंगभंग या गम्भीर प्रकृतिको रोग लागेर बोर्डबाट सतप्रतिशत सहायता लिएकाहरुको सन्ततिलाई विद्यालयस्तरमा छात्रवृत्ति दिइन्छ । श्रमिकका आधारभूत तहमा अध्ययन गर्ने छोराछोरीलाई वार्षिक १२ हजार रुपैयाँ र माध्यमिक तहमा अध्ययन गर्नेलाई वार्षिक १६ हजार रुपैयाँ दिँदै आएको छ । यस्तो सहायता हालसम्म एक हजार ५३६ जनाले लिएका छन् । गत जेठ महिनामामात्र २७२ जनाले छात्रवृत्ति पाएका छन् ।
यस अवधिमा बोर्डबाट तीन हजार ४१९ जनाले टेलिमेडिसिन सेवा लिएका छन् । विदेशमा रहेकाहरुलाई समय, स्थान र आर्थिक कठिनाइजस्ता कारणले गर्दा स्वास्थ्य जाँच गराउन सहज होस् भनेर यो सेवा सञ्चालन गरिएको हो । यस्तै श्रमाधान कल सेण्टरबाट ३५ हजार २५८ वटा समस्या समाधान गरिएको बोर्डको तथ्यांक छ । गत जेठ महिनामामात्र चार हजार ५८१ वटा समस्या समाधान भएको जनाइएको छ ।
००००